गुल्मीमा ‘आमाको दूध प्रतिस्थापन’ सम्बन्धी ऐनको बारेमा स्वास्थ्यकर्मीलाई जानकारी  

गुल्मी –  आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण सम्बन्धी कानुनी व्यवस्था र यसको प्रभावकारी कार्यान्वयनका लागि गुल्मीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न औषधी व्यासायीहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा उनीहरूलाई आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण ९नियमन० ऐन, को विषयमा विस्तृत जानकारी दिइएको हो । स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले ऐनको प्रमुख उद्देश्य, कानुनी व्यवस्था र कार्यान्वयन प्रक्रियाबारे स्पष्ट पृष्ठभूमि प्रस्तुत गर्नुभयो।

उहाँले नवजात शिशुको उचित पोषण र स्वास्थ्य सुरक्षाका लागि आमाको दूध अमूल्य स्रोत भएको बताउँदै त्यसको विकल्पका रूपमा प्रयोग हुने वस्तुहरूको अनियन्त्रित प्रयोग शिशु स्वास्थ्यका लागि हानिकारक हुने उल्लेख गर्नुभयो ।

आचार्यले ऐनले आमाको दूधको सट्टामा प्रयोग गरिने दूधजन्य पदार्थहरू, शिशु खानेकुरा, बोतल, चुसाउने सामग्री लगायतका वस्तुको विज्ञापन, प्रचारप्रसार, नमुना वितरण, अनावश्यक सिफारिस वा अनुगमनविना बिक्री वितरणलाई प्रतिबन्ध लगाएको जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले ऐनको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह र सरोकारवाला निकायबिच समन्वय, नियमित निरीक्षण र आम नागरिकमा सचेतना अभिवृद्धिको आवश्यकता औँल्याएका थिए ।

कार्यक्रममा औषधी व्यवसायी सङ्घ गुल्मीका अध्यक्ष फर्सु पाण्डेले आमाको दूधको महत्वलाई व्यापक बनाउने र ऐनको पालना सुनिश्चित गर्ने उद्देश्यले यस्ता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमले स्वास्थ्यकर्मीहरूलाई ऐनसम्बन्धी जानकारी दिनुका साथै नवजात तथा शिशु स्वास्थ्य सुधारमा आवश्यक कदम चाल्न उत्प्रेरणा दिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.