संयुक्त सरकारले विकासको लहर ल्याएको छ : प्रधानमन्त्री ओली

जलेश्वर– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशमा विकासको लहर ल्याएको बताउनुभएको छ ।
महोत्तरी जिल्लाको मटिहानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले)जस्ता मुलुकका दुई ठूला राजनीतिक पार्टी मिलेर बनेको वर्तमान सरकार विकास र सुशासनका पक्षमा अहोरात्र खटेको बताउनुभयो ।
उहाँले एमाले, कांग्रेस, लोसपा, जनमतसहितको वर्तमान संयुक्त सरकारले स्पष्ट नीति तथा कार्यक्रमसहित देशको तराई–मधेस, पहाड, हिमाल सबै क्षेत्रलाई समेटेर विकास निर्माणसहित देश र जनताका पक्षमा काम गरिरहेको स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरतासहित विकास र सुशासनका लागि बनेको वर्तमान सरकारले शिक्षा, स्वास्थ्य, सडकलगायत आमजनतासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रलाई विशेष प्राथमिकता दिएसँगै विकास निर्माणका काम द्रुतगतिमा अघि बढी उल्लेखनीय उपलब्धि हासिल भएको बताउनुभयो ।
एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्म दुई ठूला राजनीतिक दल सम्मिलित सरकारको विकल्प नरहेको स्पष्ट गर्नुभयो ।
उहाँले महोत्तरीको मटिहानीको विग्ही नदीमा बनेको पुल उद्घाटन भएसँगै यस क्षेत्रका जनतालाई जनकपुरसँग जोड्न तथा स्थानीय व्यापार व्यवसाय, उद्योग, कलकारखाना, शिक्षा, स्वास्थ्य सबै क्षेत्र लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
  कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललगायत वक्ताले मधेस प्रदेशमा रहेको पानीको समस्या दिगो रुपमा समाधान गर्न संयुक्त प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँहरूले तीनै तहको सरकार, राजनीतिक पार्टी, नागरिक समाज र स्थानीय जनताकोसमेत साथ, सहयोग र समन्वयमा मधेस प्रदेशका समग्र समस्या समाधानका पक्षमा आआफ्नो ठाउँबाट सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.