लुम्बिनीमा मेरो लेन मेरो अनुशासन कार्यक्रम सञ्चालन

बुटवल – सवारी साधन र पैदल यात्रु सबैले राजमार्गमा लेन अनुशासन पालना नगर्दा सडक अस्तव्यस्त देखिनुका साथै दुर्घटनाको जोखिम पनि बढेको ट्राफिक प्रहरीको ठहर छ । सडकमा सवारी साधन र यात्रु सबैलाई लेन अनुशासन पालना गराउने तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमा प्रहरीले मेरो लेन मेरो अनुशासन कार्यक्रम सञ्चालन गरेको छ ।

यस्ता प्रकारका अस्तव्यस्त र भद्रगोल दृश्यहरू केवल एक ठाउँमा मात्र होइन, लुम्बिनी प्रदेशका बुटवल, भैरहवा, घोराही, तुलसीपुर, नेपालगन्ज, कोहलपुर लगायत मुख्य सहरका हरेक सडकमा, हरेक क्षण देख्न पाइन्छ । यहाँ न त पैदल यात्री अनुशासित देखिन्छन्, न त सवारी चालकहरू नै ।

पछिल्लो समय लुम्बिनी प्रदेशका राजमार्गहरूका व्यस्त सडकमा यही अनुशासन हीनता दुर्घटनाको मुख्य कारण बनेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख मित्रबन्धु शर्मा बताउनु भयो । यसको नियन्त्रण र व्यवस्थापनका लागि मेरो लेन मेरो अनुशासन सञ्चालन गरिएको उहाँको भनाई छ ।

सडकमा लेन अनुशासन पालना गर्नु सवारी साधन र यात्रु दुवैको दायित्व हो । यसमा ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकाय र सङ्घसंस्थाको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । सडकलाई सुरक्षित, अनुशासित र व्यवस्थित बनाउनका लागि सवारी चालक र यात्रुबर्गमा सचेतना जागृत गर्न आवश्यक रहेको पश्चिम नेपाल बस व्यवसायी प्रा.लीका अध्यक्ष दधिराम खरेलको बताउनु हुन्छ ।

सडकलाई सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीले मात्रै नसक्ने भएकोले यसका लागि सवारी चालक र पैदल यात्रु लगायत आम सर्वसाधारणको भूमिका पनि महत्त्वपूर्ण हुने सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेलबासेको भनाई छ । नियम कानुन बनाएर मात्रै नहुने प्रभावकारी रूपमा कार्यान्वयन गर्न उत्तिकै चुनौती रहेको उहाँको भनाई छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने १ लाख ७० हजार ८० वटा सवारी साधनलाई कारबाही गरेको छ । कारबाहीबाट १७ करोड ८३ लाख ८३ हजार जरिवाना समेत उठाउन सफल भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार ट्राफिक नियमका साथै सडक अनुशासन पनि कडा रूपले लागु गर्न सकेमा सडक सुरक्षित र व्यवस्थित हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.