बिमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक: अध्यक्ष मल्ल

काठमाडौँ – नेपाल निर्जीवन बिमा व्यवसायी सङ्घका अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको बिमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्र बिचको सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ । बिमा क्षेत्रमा नीतिगत सुधार सँगै प्रविधियुक्त बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो । उहाँले भन्नुभयो, “अबको बिमा प्रविधिसँग जोडिनुपर्छ, यसले पारदर्शिता र सेवा प्रभावकारिता दुवैमा सुधार ल्याउँछ ।”
नेपालको बिमा क्षेत्र दिनप्रतिदिन सुदृढ बन्दै गएको र आगामी दिनमा यो क्षेत्रलाई पूर्ण प्रविधिमैत्री बनाउन सकिए वित्तीय पारदर्शिता समेत कायम गर्न सकिने अध्यक्ष मल्लले बताउनुभयो ।
प्रभु इन्स्योरेन्सका अध्यक्ष समेत रहेका अध्यक्ष मल्लले कम्पनीका तर्फबाट आर्थिक वर्ष २०८१÷८२ का लागि १८ प्रतिशत बोनस घोषणा गर्न सकिएको गर्व गर्दै भन्नुभयो, “यो उपलब्धि कम्पनीको सेवा, पारदर्शिता र प्रतिबद्धताको प्रतिफल हो । हामी बीमितहरुप्रति अझ जिम्मेवार हुँदै आगामी दिनमा द्रुत र समयमै दाबी भुक्तानी गर्ने कुरामा प्रतिबद्ध छौँ ।”
“बिमा गरौँ ढुक्क बनौँ” भन्ने नारालाई व्यवहारमा उतार्नका लागि प्रभावकारी सेवा प्रवाह आवश्यक रहेको अध्यक्ष मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “बिमा भनेको पीडा, विपद् र जोखिमका समयमा सेवा गर्ने क्षेत्र हो । हामीले जनतालाई यो विश्वास दिलाउनु समेत जरुरी छ ।” अध्यक्ष मल्लले बिमा क्षेत्रलाई मजबुत बनाउन निजी तथा सरकारी क्षेत्र दुई सिक्काका दुई पाटा जस्तै सँगै अघि बढ्नुपर्ने आवश्यकतामा समेत जोड दिनुभयो ।
बिमा सेवालाई गाउँ–गाउँ पुर्याउने, आम सर्वसाधारणलाई बुझ्ने भाषामा बिमाको महत्त्व बुझाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्