पहिरो गएको २४ घन्टासम्म पनि खुलेन सडक

स्याङजा- अविरल बर्षाका कारण अवरुद्ध स्याङ्जा–पर्वत सडक खण्ड अझै सुचारु हुन सकेको छैन । वालिङ नगरपालिका–१४ को डुम्रेभन्ज्याङमा पहिरो जाँदा सोमबार बिहानबाट अवरुद्ध भएको सडक २४ घण्टासम्म पनि सञ्चालन हुन नसकेको हो ।
सोमबार दिनभर सडक सुचारु गराउने प्रयास गरिएको भए पनि ठूला–ठूला पहिरोका कारण समस्या भएको वालिङ—१४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु)ले जानकारी दिनुभयो ।
आज बिहानबाट पानी पर्ने क्रम केही रोकिएकाले सडक खुलाउने काम तत्कालै सुरु गरिने उहाँको भनाई छ ।
वालिङदेखि पर्वतको दक्षिणी भेग पयुँ, व्यादी जोड्ने सडक पहिरोको कारण अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् । तीन दिनदेखि परेको अविरल बर्षाले स्याङ्जाका अधिकांश ग्रामीण सडकहरु अवरुद्ध भएका छन् ।
यसैबीच स्याङ्जाका निमित्त प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले यात्रा गर्दा बिचार गरेर यात्रा गर्न आग्रह गर्नु भएको छ । रातीको समयमा यात्रा नगर्न आग्रह गर्दै पौडेलले खोला तथा पानीको बहाव भएको क्षेत्रमा नजान आग्रह गर्नु भएको हो ।






प्रतिक्रिया राख्नुहोस्