५२ वर्षको उमेरमा स्नातक तहमा भर्ना भए मनहरी १ का वडाध्यक्ष खनाल

मकवानपुर – मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनाल ५२ वर्षको उमेरमा स्नातक अध्ययनका लागि क्याम्पस भर्ना हुनुभएको छ ।
आफैँ अध्यक्ष रहेको विद्यालयबाट गत वर्ष १२ कक्षा उत्तीर्ण गर्नुभएका खनाल मङ्गलवार हेटौँडा–१९ बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र सङ्कायतर्फ स्नातक तहमा भर्ना हुनुभएको हो । दोस्रो कार्यकालका वडाध्यक्ष खनालले वडाध्यक्षको जिम्मेवारी बहनकै क्रममा ४८ वर्षको उमेरमा कक्षा ११ मा भर्ना भएर १२ कक्षा उत्तीर्ण गर्नुभएको थियो ।
“विद्यालय उमेरमा एसएलसीसम्म मात्रै पास गरेर पढाइ अधुरो छाडेको थिएँ । पछि ४८ वर्षमा ११ कक्षा भर्ना भएर १२ पास गरेँ । एक वर्ष खाली बसेँ, अब ब्याचलर पढ्न सुरु गरेको छु,” खनालले भन्नुभयो । जनप्रतिनिधिको व्यस्तताका कारण गत वर्ष स्नातक भर्ना गर्न नभ्याएका उहाँले यस पटक पढाइ र जनसेवाको दायित्व सँगसँगै अघि बढाउने दृढता व्यक्त गर्नुभयो । निर्मल बहुमुखी क्याम्पसका प्रमुख सुवासचन्द्र कँडेलका अनुसार प्रौढ उमेरमा स्नातक तहमा भर्ना हुन आएका वडाध्यक्ष खनाललाई मङ्गलवार स्वागतसहित भर्ना गरिएको हो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका खनाल २०७९ मा पुनः विजयी हुनुभएको थियो । विद्यालयको शिक्षास्तर सुधार्ने अभियानसँगै व्यक्तिगत अधुरो पढाइ पूरा गर्न उच्च शिक्षालाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले वडाध्यक्ष खनालको यो पहल गाउँवासीका लागि प्रेरणादायी भएको बताउनुभयो ।
“औपचारिक शैक्षिक योग्यताको महत्त्व कति हुन्छ भन्ने कुराको उदाहरण उहाँले देखाउनुभएको छ । अध्ययनलाई निरन्तरता दिनुपर्छ भन्ने कुरा उहाँबाट सबैले सिक्न जरुरी छ,” अध्यक्ष कालाखेतीले भन्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्