मादी नदीमाथिको पुलको काम ७० प्रतिशत भन्दा धेरै

तनहुँ- पृथ्वी राजमार्गकै लामो मादी नदी माथि बनिरहेको पुलको ७० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको छ ।
मुग्लिन-पोखरा सडक विस्तार अन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नम्बर ४ र ५ जोड्ने मादी नदी माथि निर्माणधिन पुलको काम अगाडि बढिरहेको छ ।
तीन सय १८ मिटर लम्बाइ २३ मिटर फराकिलो यो पुल एउटै सुपरस्ट्रक्चर (स्ल्याव) भएको नेपालकै पहिलो ४ लेनको पुल रहेको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।
एक अर्ब २१ करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेर ए एन के-जेड आइ ई सी जेभीले निर्माणको काम गरिरहेको छ ।
२०७९ भदौ २२ मा सम्झौता भएको पुलको अन्तिम म्याद २०८२ भदौँ २१ सम्म रहेको छ ।
पुल निर्माण सुरु हुनुभन्दा अगाडि पुलको डिजाइन स्वीकृत हुन समय लागेको कारण निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने देखिएको कारण एकपटक म्याद थपको लागि निर्माण कम्पनीले निवेदन दिएको मुग्लिन-पोखरा सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताउनुभयो । पुलमा जम्मा ६ वटा स्पान रहने छन् ।
हालसम्म ४ वटा स्पानको काम सकिएको र बाँकी काम मनसुन सकिएलगत्तै सुरु हुने आयोजनाका इन्जिनियर पाण्डेले जानकारी दिनुभयो ।
हाल सञ्चालनमा रहेको दुई लेनको मादी पुललाई विस्थापित गर्दै नयाँ पुल निर्माण भइरहको हो । निर्माण सम्पन्न भएपछि पुलमा बत्ती समेत जडान हुने र पर्यटकीय रुपमा समेत पुलले ठुलो महत्व राख्ने आयोजनाले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्