बडादसैँको खर्च टार्ने स्रोत वृद्ध भत्ता लिन पाका पुस्तालाई सास्ती

पाल्पा- सुनिल कार्की बडादसैँ नजिकिँदै गर्दा पाल्पाका विभिन्न बैङ्कमा वृद्ध भत्ता लिन सेवाग्राहीको भीड देखिएको छ ।
सङ्घीय सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता लिन आएका सेवाग्राहीहरू लामो लाइनमा घाम ताप्दै सास्ती भोगिरहेका छन् ।
जिल्लामा रहेका १० वटा स्थानीय तहका वृद्ध, अपाङ्गता भएका नागरिक र एकल महिलाले आफ्नो खातामा आएको रकम निकाल्न बिहानैदेखि बैङ्क धाउन थालेका छन् ।
भीड बढ्दा बैङ्कमा चाप अत्यधिक देखिएको छ भने पालिका तथा बैङ्कका कर्मचारीले सेवा दिन हतार हतार गर्नुपरेको अवस्था छ ।
बडादसैँको खर्च टार्न अग्रिम रूपमा रकम निकाल्ने होडका कारण वृद्ध वृद्धा र अशक्त नागरिकहरूलाई विशेष कठिनाइ भएको सेवाग्राहीले गुनासो गरेका छन् ।
घाम तापेर लाइन बस्नुपर्ने बाध्यता हटाउन सम्बन्धित निकायले सुविधा विस्तार गर्नुपर्ने आवाज समेत उठेको छ ।
बैङ्कका कर्मचारीहरू थप काउन्टर सञ्चालन गरेर सेवा द्रुत बनाउने प्रयास गरे पनि प्रभावकारी हुन नसक्दा नागरिक दैनिक सास्ती भोग्न बाध्य छन् ।
स्थानीय प्रशासनले पनि भत्ता वितरण प्रक्रिया व्यवस्थित गर्न सुरक्षा परिचालन र भीड व्यवस्थापनमा ध्यान दिइरहेको जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्