मध्यपूर्व वार्तामा ‘विशेष सफलता’ प्राप्त हुने राष्ट्रपति ट्रम्पको सङ्केत

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको ह्वाइट हाउस भ्रमणअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व सङ्कट समाधानमा विशेष प्रगति हुने सङ्केत दिनुभएको छ ।
ट्रम्पले आइतबार आफ्नै ट्रुथ सोसल प्लेटफर्ममा लेख्दै भन्नुभयो, “हामीसँग मध्यपूर्वमा महानताको वास्तविक मौका छ । सबै कुनै विशेष कुराका लागि सहमत भएका छन्, पहिलो पटक सबै पक्ष बोर्डमा छन् । हामी यसलाई पूरा गर्नेछौँ !!!”
यसअघि शुक्रबार वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले गाजासम्बन्धी ‘मलाई लाग्छ हामीसँग एउटा सम्झौता छ’ भन्नुभएको थियो ।
सोही दिन संयुक्त राष्ट्र महासभामा सम्बोधन गर्दै नेतान्याहुले पश्चिमी शक्तिहरू — बेलायत, फ्रान्स लगायतले प्यालेस्टिनी राज्यलाई मान्यता दिएको केही दिनमै — इजरायलले त्यसलाई अस्वीकार गर्नेछ र हमासविरुद्ध ‘काम समाप्त गर्ने’ सङ्कल्प व्यक्त गर्नुभएको थियो ।
नेतान्याहुले सोमबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।।






प्रतिक्रिया राख्नुहोस्