साना ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्दै

जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले शनिबार पूर्व आर्थिक सुरक्षामन्त्री साना ताकाइचीलाई पार्टीको नयाँ नेताका रूपमा निर्वाचित गरेको छ । ६४ वर्षीया ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बन्ने दौडमा अगाडि देखिनुभएको छ ।
जापानमा लैङ्गिक समानताको मामिलामा अन्तर्राष्ट्रिय आलोचना भइरहँदा पुरुषप्रधान एलडिपीको पहिलो महिला नेताको रूपमा ताकाइचीको निर्वाचन ऐतिहासिक मानिएको छ । उहाँ पार्टीभित्रकी एक कट्टर रूढीवादी नेत्रीका रूपमा चिनिनुहुन्छ ।
ताकाइचीले पूर्व कृषिमन्त्री सिन्जिरो कोइजुमीलाई पराजित गर्दै अध्यक्ष पद जित्नुभएको हो । उहाँले प्रधानमन्त्री सिगेरु इसिबाको स्थान लिनुहुनेछ । इसिबाले हालैको चुनावी हारपछि राजीनामा दिनुभएको थियो । एलडिपीले संसद्को तल्लो सदनमा बहुमत कायम राखेकाले विपक्षीहरू कमजोर भएको अवस्थामा ताकाइची प्रधानमन्त्री बन्ने सम्भावना बलियो देखिन्छ ।
निर्वाचन परिणामपछि ताकाइचीले समर्थकहरूलाई धन्यवाद दिँदै भन्नुयो, “मैले एलडिपीका लागि इतिहास बनाएको छु । यो उत्सवको बेला होइन, बरु चुनौतीहरूको पहाड छ जसलाई तपाईंहरूको सहयोगमा पार गर्नुपर्छ ।”
उहाँले पार्टीलाई जनमुखी बनाउँदै जनताको विश्वास पुनः प्राप्त गर्न सांसदहरूलाई आग्रह गर्नुभयो । ताकाइचीले भन्नुभयो, “हामीले जनताको चिन्तालाई आशामा रूपान्तरण गर्नुपर्छ, नभए पार्टीको पुनःनिर्माण असम्भव छ ।”
एलडिपी हाल संसद्को दुवै सदनमा अल्पमतमा छ । मतदाताको समर्थन फिर्ता ल्याउन र देशभित्र र बाहिरका चुनौतीहरूसँग जुध्न पार्टीलाई नयाँ नेतृत्वको आवश्यकता थियो । ताकाइचीले पार्टीको नीति कार्यान्वयनका लागि विपक्षी दलहरूको सहयोग आवश्यक पर्ने बताउनुभएको छ ।
पप्रधानमन्त्री सिन्जो आबेको नीतिहरूको हिमायती ताकाइची, यासुकुनी तीर्थमा नियमित दर्शन गर्ने नेत्री हुनुहुन्छ । यो तीर्थ जापानको युद्धकालीन इतिहाससँग जोडिएको कारणले चीन र कोरियासँगको सम्बन्धमा संवेदनशील विषय बन्ने गरेको छ ।
ताकाइचीले प्रचार अभियानका क्रममा आफूलाई ‘मध्यम रूढीवादी’का रूपमा प्रस्तुत गर्नुभयो । उहाँले चीन विरोधी धारणा र सामाजिक मुद्दामा कट्टरपन्थी विचार देखाउने काम गर्नुभएन । उहाँ आर्थिक विकासका लागि ठूला खर्च, बलियो सुरक्षा नीति र आप्रवासनमा कडाइको पक्षमा हुनुहुन्छ ।
उहाँले आफ्नो गृहनगर नारामा विदेशी पर्यटकप्रति टिप्पणी गरेपछि आलोचना पनि भोग्नुभएको छ । उहाँका आलोचकहरूले ताकाइची विदेशीहरूबारे कटु टिप्पणी गर्ने, अनुवादकको अभावलाई दोष दिँदै विदेशी अपराधीहरू सजायबाट उम्किन्छन् भन्ने दावी गरेको भन्दै प्रश्न उठाएका छन् ।
शनिबारको मतदानमा २९५ एलडिपी सांसद र झण्डै १० लाख पार्टी सदस्य सहभागी थिए । यद्यपि, यसले जापानी जनसङ्ख्याको करिब एक प्रतिशत मात्र प्रतिनिधित्व गर्छ ।
विश्लेषकहरूका अनुसार उम्मेदवारहरूले ऐतिहासिक मुद्दा, समलिङ्गी विवाह, राजनीतिक भ्रष्टाचार लगायतका संवेदनशील विषयमा छलफल टार्न खोजेका थिए । यसले पार्टीप्रतिको जनविश्वासमा प्रश्न उठाएको छ ।
ताकाइचीको विजयसँगै एलडिपीले आगामी अक्टोबरको मध्यतिर हुने संसदिय चुनावको तयारी तीव्र बनाएको छ । ताकाइचीले चाँडै अमेरिका, दक्षिण कोरिया लगायतका देशहरूसँग कूटनीतिक वार्तामा सहभागी हुनुपर्नेछ ।
एलडिपीको यो निर्णयले अति–रूढीवादी मतदातालाई तान्न सक्ने सङ्केत दिँदैछ, तर पार्टीले मध्यमार्गी कोमेइटो जस्ता दलहरूसँग सहकार्यको बाटो पनि खोज्नु पर्ने देखिन्छ ।
अब ताकाइचीले केवल एलडिपीभित्र मात्र नभई समग्र जापानको राजनीतिमा समेत आफ्नो दूरदर्शिता र नेतृत्व क्षमता प्रमाणित गर्नुपर्ने समय आएको छ ।






प्रतिक्रिया राख्नुहोस्