सूचना नदिएको भन्दै गाउँपालिकामा तालाबन्दी

बैतडी – सूचनाको हक अन्तर्गत नागरिकले माग गरेका सूचना उपलब्ध नगराएको भन्दै बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरिएको छ । स्थानीय युवाहरूको समूहले गाउँपालिकामा तालाबन्दी गरेका हुन् । गाउँपालिकाले सञ्चालन गरेका विभिन्न कार्यक्रम र बजेट सम्बन्धी सूचना माग गर्दा नदिएको भन्दै तालाबन्दी गरिएको स्थानीय युवा विशाल भट्टले बताउनुभयो ।

सुर्नया गाउँपालिकाले असोज २४ गते (आज) सार्वजनिक सुनवाइ कार्यक्रम समेत आयोजना गरेको थियो । माग गरेको सूचना उपलब्ध नहुँदा सम्म कुनै पनि कार्यक्रम र गाउँपालिकाको सेवा सञ्चालन हुन नदिने भन्दै असन्तुष्ट युवा तथा  स्थानीयको समूहले तालाबन्दी गरेका हुन् । त्यसपछि आजका लागि आयोजना गरिएको सार्वजनिक सुनुवाइ समेत स्थगित गरिएको छ । पटक–पटक गाउँपालिकासँग सूचना माग गर्दा समेत सूचना उपलब्ध गराउन आनाकानी गरेको असन्तुष्ट समूहको गुनासो छ ।

जनताको गुनासो सुन्नका लागिनै सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको भए पनि कार्यक्रम गर्न नदिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो ‘उहाँहरूका माग र गुनासो सुन्नकै लागि कार्यक्रम आयोजना गरेका हौँ, तर कार्यक्रम नै गर्नु हुँदैन भन्ने उहाँहरूको माग छ ।’

सूचना दिन ढिलाइ भएको स्वीकार गर्दै गाउँपालिकाकाका सूचना अधिकारी रामसिंह महराले भने युवाहरूले माग गरे अनुसारको सूचना तयार गरेको भए पनि बुझ्न नआएको बताएका छन् । उहाँले भन्नुभयो, ‘केही कर्मचारी र जनप्रतिनिधिका भत्ता लगायतका खर्च विवरणहरू लेखापाल र कार्यालय प्रमुख नहुँदा तयार गर्न समय लागेको हो, अरू सूचनाहरू हामीले तयार गरेका छौँ तर तयार गरेको सूचना लगेनन्,  बाँकी सूचना समेत कार्यालय प्रमुख र लेखापाल आउने वित्तिक्कै दिन्छौँ ।’

असन्तुष्ट समूहले भने माग भन्दा पनि फरक सूचनाहरू उपलब्ध गराएको बताएका छन् । गाउँपालिकाको बजेट विनियोजन, मसलन्द खर्च, कर्मचारी तथा जनप्रतिनिधिको भत्ता, इन्धन खर्च, घर भाडा लगायतका बारेमा स्थानीयहरूले सूचना माग गरेका थिए । असन्तुष्ट समूहले माग गरेका दिन मिल्ने सबै सूचना दिने गाउँपालिका अध्यक्ष कुँवरले बताउनुभयो । मैले दिन मिल्ने सबै सूचना दिन भनिसकेको छु, कार्यालय प्रमुख र लेखापाल आउने लितिक्कै उहाँहरूले माग गरेको सूचना पाउनुहुन्छ ।’

केही व्यक्तिहरूले भने राजनीतिक प्रतिसोध लिएर गाउँपालिका अध्यक्षलाई जनताको गुनासो सम्बोधन गर्न नदिएको आरोप लगाएका छन् । पछिल्लो समय सुर्नया गाउँपालिकाका जनप्रतिनिधिहरूबिचमा समेत कार्यगत तालमेलको अभाव रहेको र त्यसको मारमा जनता परेको उनीहरूको गुनासो छ । अध्यक्षलाई जनताको गुनासो सम्बोधन गर्ने वातावरण बिथोल्न नहुने उहाँहरूको मत थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न नदिने असन्तुष्ट समूहको अडानपछि गाउँपालिका अध्यक्षले पत्रकार सम्मेलन मार्फत जनतालाई केही कुरा स्पष्ट पार्न जरुरी भएको भन्दै पत्रकार सम्मेलनको आयोजना गरेका थिए । असन्तुष्ट समूहले पत्रकार सम्मेलन समेत बिथोलिदिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.