सयपत्री फुलबाट मनग्य आम्दानी गदै माधव घिमिरे

काभ्रे – काभ्रेपलाञ्चोकको बनेपा–१२ बासडोलमा माधव घिमिरेले वैदेशिक रोजगारीबाट फर्किएपछि आफ्नै गाउँमा कृषिकै माध्यमबाट मनग्य आम्दानी गर्न सफल हुनु भएको छ । उहाँले अहिले २० रोपनी जग्गा भाडामा लिएर सयपत्री फूलको व्यावसायिक खेती सुरु गरेका हुन । उहाँको बगैँचामा ढकमक्क फुलेका सयपत्रीले तिहार सङ्घार मै रहेको सङ्केत गरिरहेको छ । तिहार नजिकिएसँगै ५८ वर्षीय माधव घिमिरेलाई सयपत्री फूल टिप्ने र बजारसम्म पुर्याउने चटारो छ । हरेक वर्ष दसैँ तिहारको समयमा उनलाई यही कामको व्यस्तता हुन्छ । मोरङ घर भएका माधव घिमिरे वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका थिए । उहाँले १८ वर्ष साउदी अरबमा काम गरे भने त्यसपछि साउदी अरबबाटै इजरायल पुगेर फूल खेती सिकेका थिए । स्वदेश फर्केर उहाँले त्यो सीपलाई सदुपयोग गरिरहेका छन् ।
चाडपर्वमा फूलको माग बढी हुने भएकाले माग अनुसार बजारमा फूल पुर्याउन उनलाई भ्याई–नभ्याई हुन्छ । बजारमा फूलको माग बढेसँगै बगैँचामा अचेल दैनिक ११ जना कामदार र उहाँको परिवारका सदस्यहरुले सघाइरहेका छन् ।
तिहार लगायतका चाडपर्वमा सयपत्री फूलको माग अत्यधिक हुने भएकाले घिमिरेले यस वर्ष मात्रै करिब १२ देखि १३ लाख रुपैयाँसम्मको आम्दानी हुने अपेक्षा गरेका छन् । भारतबाट आयातित फूलमा प्रतिबन्ध लागेपछि स्वदेशी फूलको माग र मूल्य दुबै बढेको छ, जसको प्रत्यक्ष लाभ घिमिरेजस्ता किसानले पाएका छन् ।






प्रतिक्रिया राख्नुहोस्