छठ पर्वको मुख्य दिन आज ‘सझुका अरख’

महोत्तरी- महोत्तरीसहित मधेशप्रदेशको विभिन्न जिल्लामा आज छठ पर्वको ‘सझुका अरख’ को तयारी गरिँदै छ । व्रतालु आज निराहार व्रतमा छन् । निराहार व्रतको साँझ अस्ताउँदा सूर्यलाई अघ्र्य दिने विधिलाई ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ । वर्तालु आज यही ‘सझुका अरख’ को तयारीमा छन् ।

सूर्यदेव र षष्ठीदेवी (छठीदेवी) को आराधना गरिने चार दिने यो पर्वको आज मुख्य दिन मानिन्छ । कात्तिक शुक्ल चौथीका दिन गत शनिबार ‘नहायखाय’ विधिबाट पर्व सुरु गरेका वर्तालुले दोस्रो दिन आइतबार ‘खरना’ विधि सम्पन्न गरेका थिए ।

श्रद्धा निष्ठा र समर्पणको प्रतीक मानिने छठपर्वका अवसरमा यहाँका जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक बनाइएका छन् । वर्तालुले मङ्गलबार सप्तमीका तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि छठपर्व विधिवत् रुपमा सम्पन्न हुनेछ । व्रत समापन गरिने बिहानको यो विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

यसअघि गत शनिबार उसिना चामल, माछा–मासु, मुसुरो, लसुन–प्याज र व्रतमा अशुद्ध मानिएका भोजन त्यागेर वर्तालुले पवित्र स्नान गरेर व्रत सङ्कल्प गर्दै ‘नहाय–खाय’ विधि गरेका थिए । यसलाई ‘अर्बाअर्बाइन’ पनि भनिन्छ । यसैगरी दोस्रो दिनको ‘खरना’ विधि आइतबार सम्पन्न भएको छ ।

‘खरना’ विधिका दिन बिहानै नुहाएर दिनभरि उपवास बसेर साँझ चन्द्र दर्शन गर्दै घरका कूलदेवता र छठी मातालाई सख्खरमा पकाइएको चामलको खिर चढाइन्छ । त्यही खिर खाएपछि वर्तालुको निराहार व्रत प्रारम्भ हुन्छ । यो ‘खरना’ को प्रसाद नयाँ माटोको चुल्होमा पकाउने मैथिल चलन छ ।

‘खरना’ सकेर व्रत आरम्भ भएपछि पर्सिपल्ट बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछिमात्र व्रत पूर्ण हुन्छ । यसपालि भोलि मङ्गलबार बिहान ६ बजेर १२ मिनेटमा सूर्योदय हुने बेला छ । त्यसपछिमात्र ‘भोरका अरख’ सम्पन्न भई पर्व समापन हुने बर्दिबास–२ का बासिन्दा पण्डित महेशकुमार झा बताउनुहुन्छ ।

पर्व सम्पन्न गरिएसँगै सूर्यदेव र छठीमातालाई अर्पण गरिएका प्रसाद सामग्री ठकुवा, भुसुवा, केरासहितका डाला घर ल्याएर इष्टजन र परिवारजनले खाने गर्छन् । केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब राष्ट्रिय पर्व नै बनिसकेको छ । पहाड, मधेश र विभिन्न परम्पराका नेपालीबीच सांस्कृतिक घुलमिलले छठपर्व साझा बनेको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमलले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.