अन्नपूर्ण पदमार्ग अन्तर्गत थ्रोङलातर्फ सञ्चार नहुँदा समस्या

स्वास्थ्य सेवामा पनि चुनौती

लमजुङ –  विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग अन्तर्गत माथिल्लो क्षेत्रमा सञ्चार सेवा नपुग्दा स्थानीयसँगै पर्यटकलाई समस्या हुने गरेको छ । वार्षिक हजारौँ पर्यटकहरूको आगमन हुने सो पदमार्ग अन्तर्गत जोखिम क्षेत्रमा नै प्रभावकारी सञ्चारको सेवा नपुगेको स्थानीयले गुनासो गरेका हुन् ।

केहिदिन अघि मात्रै मनाङको तिलिचो क्षेत्रमा नेपाल टेलिकमले फोर जी सेवा सुरु गरे पनि थोरङला तर्फ ङिस्याङ गाउँपालिकाको टङ्की मनाङ भन्दा माथिल्लो क्षेत्रमा सञ्चार नभएको मनाङका स्थानीय सागर गुरुङले जानकारी दिनुभयो । माथिल्लो मनाङ हुँदै टङ्की मनाङसम्म टेलिफोन तथा इन्टरनेट सेवा सन्तोषजनक भए पनि त्यसभन्दा माथि याक खर्क, धुन्साङ, थ्रोङला फेदी, हाईक्याम्प लगायतका क्षेत्रमा प्रभावकारी सञ्चार नहुँदा स्थानीयसँगै पर्यटकहरूले सास्ती पाउने गरेको गुरुङको भनाई छ ।

पदमार्ग अन्तर्गत मनाङको माथिल्लो क्षेत्रमा रहेका केही होटलहरुमा निजी क्षेत्रले महँगो शुल्कमा इन्टरनेट सेवा पु¥याएपनि सेवा सन्तोषजनक नभएको स्थानीयको भनाई छ । सञ्चारका लागि अन्य विकल्प नहुँदा महँगो भए पनि निजी क्षेत्रको इन्टरनेट सेवा लिएको तर अधिकांश समय सेवा अवरुद्ध हुने गरेको स्थानीयको भनाई छ ।

बर्सेनि सिजनका बेला हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन हुने सो क्षेत्रमा प्रभावकारी सञ्चार सेवा उपलब्ध गराइदिन मिडिया मार्फत सरकार सँग अनुरोध गरेका हुन् । भौगोलिक हिसाबले तिलिचो क्षेत्र जस्तै रहेको थोरङला क्षेत्रमा पनि प्रभावकारी सञ्चार सेवा भएमा मनाङको पर्यटन व्यवसायमा थप प्रवर्द्धन हुनुको साथै सुरक्षा व्यवस्थापनमा पनि सहज हुने स्थानीयको विश्वास छ ।
मनाङ भन्दा माथिल्लो क्षेत्रमा प्रभावकारी सञ्चारसँगै सुविधायुक्त स्वास्थ्य सेवा पनि नहुँदा पर्यटकहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । पदमार्गमा आएका पर्यटकहरू हाई अल्टिच्युटका कारण लेक लागेपछि उपचार गर्न स्वास्थ्य संस्था नपाउँदा कतिपय पर्यटकहरू फर्किन बाध्य भएको स्थानीयले बताएका छन् ।

माथिल्लो मनाङ पछि एकैचोटी मुस्ताङमा पुगेपछि मात्र स्वास्थ्य संस्था रहेको छ । पदमार्गमा स्वास्थ्य चौकी नभएको ठाउँमा स्वास्थ्य चौकीको पहुँच पु¥याउनुपर्ने आवाज पर्यटन व्यवसायीहरूले विगतका वर्षहरूदेखि नै उठाउँदै आएका हुन् । बिशेषगरि माथिल्लो मनाङ पछि र मुख्य जोखिम क्षेत्र थ्रोङ्ला हुँदै मुस्ताङको मुक्तिनाथसम्म सरकारले सुविधायुक्त वैकल्पिक स्वास्थ्य केन्द्रको माग गर्दै आएका छन् ।
पदमार्ग अन्तर्गत जोखिमपूर्ण स्थानहरुमानै स्वास्थ्य केन्द्र नहुँदा कतिपयले आफैँ प्राथमिक उपचारका सामानहरू बोकेर पनि हिँड्ने गरेको छन् । स्वास्थ्य केन्द्र र औषधीको व्यवस्था हुन नसक्दा कतिपय पर्यटकहरूले घरेलु औषधि अदुवा र लसुनको भरमा पदयात्रा टुङ्गाउने गरेको पर्यटन व्यवसायीहरूले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.