ट्रम्पद्वारा ‘प्रतिभाशाली’ सीको प्रशंसा

वासिङ्टन-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आगामी दक्षिण कोरिया भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने भेटअघि चीनप्रति लामो समयदेखि रहेको कठोर धारणा नरम पार्दै सीलाई ‘उत्कृष्ट र प्रतिभाशाली व्यक्ति’ का रूपमा वर्णन गर्नुभएको छ । सन् २०१९ पछि उहाँहरूको यो पहिलो प्रत्यक्ष भेट हुनेछ ।

ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा भन्नुभयो, “उहाँ एक अर्ब ४० करोड जनतालाई कठोरतापूर्वक चलाउनुहुन्छ—स्मार्ट, प्रतिभाशाली, असाधारण व्यक्ति । हलिउडमा पनि उहाँको जस्तो कोही छैन ।”

चीनमाथि कठोर बयानबाजीका बीच उहाँले यसरी प्रशंसा गर्नुलाई विश्लेषकहरूले वासिङ्टनको परम्परागत चीनप्रतिको दृष्टिकोणमा परिवर्तनको सङ्केतका रूपमा व्याख्या गरेका छन् ।

ट्रम्प र सीबीचको वार्ताको एजेन्डामा व्यापार मुख्य विषय हुनेछ । हालै क्वालालम्पुरमा भएको वार्तापछि दुवै पक्षले व्यापार सम्झौता नजिकिएको सङ्केत दिएका छन् । तर विश्लेषकहरूले दीर्घकालीन सहमतिको सम्भावनामा शङ्का प्रकट गरेका छन् ।

पूर्व राष्ट्रपति बराक ओबामाका चीन सल्लाहकार रायन हास भन्नुहुन्छ, “ट्रम्पले सम्झौता खोजिरहनुभएको छ, तर अमेरिकी नोकरशाही अझै बेइजिङप्रतिको प्रतिरोधमा केन्द्रित छ ।” उहाँका अनुसार चीन संयुक्त राज्य अमेरिकासँग बराबरीको साझेदारी नभई, आफ्नै प्रभाव क्षेत्र विस्तारमा बढी रुचि राख्छ ।

सन् २०१९ मा ट्रम्पले चीनसँग गरेको ऐतिहासिक व्यापार सम्झौताले दुई खर्ब अमेरिकी डलर बराबरको अमेरिकी निर्यात वृद्धि गर्ने अपेक्षा गरिएको थियो, तर कोभिड–१९ महामारीपछि त्यो असफल भयो । त्यसपछि ट्रम्पले महामारीलाई ‘चिनियाँ भाइरस’ भन्दै तीव्र असन्तोष प्रकट गर्नुभएको थियो ।

जो बाइडेन प्रशासनले पनि चीनमाथि संवेदनशील प्रविधि प्रतिबन्धलगायत दबाब कायम राखेको थियो, यद्यपि सीमित सहकार्यका लागि द्विपक्षीय संवाद पनि जारी छ ।

स्टिम्सन सेन्टरकी विश्लेषक युन सन भन्नुहुन्छ, “चिनियाँहरूलाई ट्रम्पको शैली मन नपरे पनि उनीहरू उहाँलाई व्यावहारिक सम्झौतामा सक्षम व्यक्ति ठान्छन् । उनीहरूलाई लाग्छ, ट्रम्प धेरै मुद्दामा बाइडेन प्रशासनभन्दा बढी लचिलो हुन सक्नुहुन्छ ।”

यसैबीच, विदेश नीति विश्लेषक हेनरिएटा लेभिनका अनुसार ट्रम्पको असामान्य वार्ता शैलीका कारण राष्ट्रपति सी ताइवान सम्बन्धी छलफलमा उहाँको प्रतिक्रिया कस्तो हुनेछ भन्नेमा अनिश्चित हुनुहुन्छ । उहाँले भन्नुभयो, “ट्रम्पले रणनीतिक विषयहरूलाई आर्थिक र राजनीतिक मुद्दासँग सिधा जोड्ने प्रवृत्ति राख्नुहुन्छ, जसले चीनलाई अवसर र चुनौती दुवै दिन सक्छ ।”

चीनले ताइवानमा अमेरिकी हतियार बिक्रीको कडा विरोध गर्दै आएको छ र अमेरिकाले ‘ताइवानको स्वतन्त्रताको समर्थन गर्दैन’ भन्ने स्पष्ट वचन खोजिरहेको बताइएको छ । तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भन्नुभयो, ‘संयुक्त राज्य अमेरिका कुनै पनि व्यापार सम्झौताका नाममा ताइवानबाट टाढा जाने छैन’ भन्दै बेइजिङप्रतिको कडा नीति दोहोर्‍याउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.