बेली सडकमा सडक बत्ती छैन, राति हिँड्दा यात्रुलाई सास्ती

कैलाली-  कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गत हुलाकी सडक खण्डको बेली जङ्गल क्षेत्रमा सडक बत्ती नहुँदा यात्रुलाई सास्ती हुने गरेको छ । दिनभर धनगढीमा मजदुरी तथा दैनिक कामकाज गरेर अबेर बेलुका घर फर्कने बेली, जुगेडा, कनरी, उर्मा तथा फूलबारी क्षेत्रका नागरिकलाई सडक बत्ती नहुँदा समस्या हुने गरेको हो । जङ्गली जनावरले बाटो काट्ने, सडकमै रहेका छाडा पशु चौपाया तथा केही आपराधिक मानसिकता भएका मानिसका कारण सडकमै सडक बत्ती नहुँदा दुर्घटनाको खतरा बढेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रमा मात्रै सडक बत्ती जडान गरे पनि हुलाकी सडक खण्डको बेली जङ्गल क्षेत्रको सडक खण्डमा सडक बत्ती जडान नहुँदा यात्रुहरुले सास्ती भागिरहेका छन् । बत्ती जडान नभएका कारणले साँझ र रातिको समयमा आवतजावत गर्ने नागरिकहरु असुरक्षा महसुस गर्न थालेका छन । करिब दुई किलोमिटर क्षेत्रमा जगल एरिया पर्ने र सो ठाउँमा सडक बत्ती जडान नहुँदा रातिको समयमा आवतजावत गर्न असहज भइरहेको स्थानीय कृष्ण कुँवरले बताउनुभयो ।

जङ्गल सुरु हुनु अघिसम्म र जङ्गल कटिसकेपछि सडक बत्ती जडानको काम तीव्र गतिमा भइरहेको भए पनि सामुदायिक वन पर्ने भागमा बत्ती नहुँदा यात्रुहरू डर झेल्दै हिँड्न बाध्य भएका छन् । अँध्यारोमा वन्यजन्तु तथा लुटपाट जस्ता आपराधिक गतिविधि हुन सक्ने भन्दै स्थानीयले सम्बन्धित निकायसँग तत्काल बत्ती जडानका लागि माग गरेका छन् ।  सडक बत्ती नहुँदा राति जनावरको डर बढ्ने र दुर्घटनाको सम्भावना उच्च रहने भएकाले सडकमा बत्ती जडान अत्यावश्यक रहेको स्थानीय विनोद ढकाल र गोकुल पण्डितले बताउनुभयो ।

स्थानीयले सडक खण्डमा सडक बत्ती जडान गरिदिन धनगढी उपमहानगरपालिकालाई आग्रह गरेका छन् । धनगढी उपमहानगरपालिकाले भने जङ्गल भएका कारण बत्ती जडानमा समस्या भएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.