बेमौसमी वर्षाले किसानको पाकेको धान भिज्यो

स्याङ्जा – कार्त्तिक मङ्सिर महिना घाम र उज्यालो दिन किसानका लागि धान भित्र्याउने उपयुक्त समय हो । तर यसपालि स्याङ्जासहित देशका धेरै स्थानमा बेमौसमी वर्षा हुँदा किसानलाई निकै चिन्ता बनाएको छ । स्याङ्जाका किसानले मेहनत तथा पसिना बगाएर काटेको धान भिजेपछि किसानले नोक्सानी भोग्नु परेको छ ।
जलवायु परिवर्तनको असर अहिले हरेक ठाउँमा देखिँदै छ । वर्षा असामयिक हुने, कहिले अत्यधिक पानी, कहिले लामो खडेरी—यस्ता अनिश्चित अवस्थाले कृषकको उत्पादन र आम्दानी दुवैमा सङ्कट ल्याइरहेको छ । धान खेतीमा निर्भर स्याङ्जाका किसान धान पाकेर घरमा भित्राउने समयमा पानी परेर धान भिजेपछि चिन्तामा परेका हुन ।
सरकार र सम्बन्धित निकायले यस्तो असामयिक वर्षाबाट हुने कृषिजन्य क्षति न्यूनीकरणका उपाय तुरुन्त लागू गर्न किसानले माग गरेका छन् ।
जिल्लामा १६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । स्थानीय तह र कृषि ज्ञान केन्द्र बिचको सहकार्य निरन्तर प्रभावकारी हुँदा धान खेती गर्ने कृषकको सङ्ख्या बढे पनि खेती सिहार्ने बेलाको वर्षाले गर्दा लक्ष्य अनुसार उत्पादन नहुने विशेषज्ञहरूको भनाइ छ।






प्रतिक्रिया राख्नुहोस्