मौसम प्रतिकूल बनेपछि अन्नपूर्ण हिमालको आधार शिविर पुगेका पर्यटकलाई सकुशल फर्काइयो

म्याग्दी– पछिल्लो समय आन्तरिक पर्यटकहरूको मुख्य रोजाइमा परेको म्याग्दीको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पुगेका सबै पर्यटकहरू सकुशल फर्किएका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्णको आधार शिविर गएका सबै पर्यटकहरूलाई फर्काइएका हो ।
पर्यटक आगमनको हब बनेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुगेका पर्यटकहरूलाई मौसम प्रतिकूल बनेपछि सम्भावित सुरक्षा जोखिमको आङ्कलन गरी सुरक्षाकर्मी र उद्धारकर्ताको सहयोगमा सुरक्षित स्थानमा फर्काइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । तिहार लगत्तै अन्नपूर्ण आधार शिविरको भ्रमणमा पुगेका आन्तरिक र बाह्य पर्यटकहरूलाई जिल्लास्थित प्रहरी, प्रशासन र पालिकाको समन्वयमा फर्काइएको हो ।
मौसममा आएको परिवर्तनसँगै गएको सोमबारदेखि हिमपात पर्न थालेपछि पर्यटकको उद्धार र सहयोगका  लागि सोमबारै सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वर म्याग्दीबाट प्रहरी निरीक्षक विनोद पौडेलको नेतृत्वमा ७ जना सशस्त्र प्रहरी, ३ जना नेपाल प्रहरी र दानाका उद्धारकर्मी इन्द्र सिङ शेरचनसहित ११ जनाको उद्धार टोली अन्नपूर्ण आधार शिविर पुगेको थियो । उक्त टोलीले आधार शिविर आसपासको क्षेत्रमा डोरी टाँगेपछि हिउँ पन्छाएर बाटो बनाउँदै भ्रमणमा पुगेका पर्यटकहरूलाई सकुशल फिर्ता गराएको हो ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले अन्नपूर्ण आधार शिविर पुगेको उद्धारकर्मीको टोलीले आवश्यक सहजीकरण गरी १७ जना विदेशीसहित कुल १ सय ८२ जनालाई सकुशल फिर्ता गराएर सुरक्षित स्थानमा ल्याइएको जानकारी दिनुभयो । अन्नपूर्णको भ्रमणमा गएका सबै आन्तरिक र बाह्य पर्यटकहरूलाई सकुशल फिर्ता गराएपछि अहिले पदमार्ग र आधार शिविरमा पर्यटक नभएको उहाँले बताउनुभयो । मौसम प्रतिकूल बनेपछि शुक्रवारसम्म जिल्ला प्रशासन कार्यालयले अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक समेत लगाएको छ ।
मौरिस हर्जोग पदमार्ग हुँदै यही कात्तिक १० र ११ गते आधार शिविरको ४ हजार ९० मिटरको उचाइमा अवस्थित पञ्चकुण्डतालमा पुगेका आन्तरिक र बाह्य पर्यटकहरूलाई सकुशल रूपमा फर्काएर सुरक्षित स्थानमा ल्याइएको सहरीकरणमा खटिनुभएका अन्नपूर्ण–३, दानाका पर्यटन व्यवसायी तथा उद्धारकर्मी इन्द्र सिङ शेरचनको भनाइ छ । तीन दिनदेखिको निरन्तरको वर्षा र हिमपातका कारणले आधार शिविर तथा पदमार्गको विभिन्न स्थानमा समस्या झेलेका पर्यटकहरूलाई सुरक्षाकर्मीसहितको टोलीले आवश्यक सहजीकरण गरी मौरिस हर्जोग पदमार्ग अन्तर्गत सुरुको प्रस्थान विन्दु हुमखोलासम्म ल्याएर छाडेको हो ।
आधार शिविरमा भारी हिमपातको कारणले ४ हजार ९० मिटरको उचाइमा रहेको पञ्चकुण्डताल र ३ हजार ७ सय मिटरको भुस्केटमेलामा रहेका पर्यटकहरू समस्यामा परेका थिए भने पदमार्गमा परेको बाक्लो हिमपातले पदमार्ग पहिचान गर्न समस्या भएपछि उनीहरू बिच बाटोमै रोकिएका हुन् । पदमार्गमा डोरी टाँग्ने र बाटोको हिउँ पन्छाएर यात्रालाई सहज बनाइएको उद्धारकर्मी शेरचनले बताउनुभयो ।
सुरक्षाकर्मी र उद्धारकर्ताको सहयोगले आधार शिविर तथा पदमार्गको विभिन्न स्थानका होटलहरुबाट सबै पर्यटकहरूलाई बिहीबार हुमखोला झारिएको र उनीहरू सबै सकुशल रहेका छन् । वर्षा र हिमपात नरोकिँदासम्म जोखिम मोलेर अन्नपूर्ण आधार शिविरको पदयात्रामा नजान पर्यटकलाई प्रजिअ तिवारीले सुझाव दिनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.