शिवपुरी गाउँपालिकाको विशेष अधिवेशन
–तीन वटा कानुन प्रस्तुत

नुवाकोट- विभिन्न कानुन प्रस्तुत गर्दै नुवाकोटको शिवपुरी गाउँपालिकाको विशेष अधिवेशन गरिएको छ । विशेष अधिवेशनको पहिलो बैठकले विभिन्न तीन वटा कानुन सभामा प्रस्तुत गरेर छलफल सुरु गरेको छ ।
शिवपुरी गा पाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, बेरुजु फर्छ्यौट सम्बन्धी कार्यविधि र लेखा, विधायन, विकास तथा सुशासन समिति गठन तथा कार्य सञ्चालन कार्यविधि प्रस्तुत गरिएको शिवपुरी गा पा अध्यक्ष गोविन्दप्रसाद थपलियाले बताउनु भयो । उहाँले संघीयताको कार्यान्वयन र प्रशासनिक सुधारका लागि स्थानीय सरकारमा सो कानुनहरू आवश्यक रहेको र सभामा पेस गरिएको बताउनुभयो ।
सभामा उपाध्यक्ष वीरवहादुर तामाङले शिवपुरी गा पाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, कार्यपालिका सदस्य सुकुराम तामाङले लेखा समिति गठन तथा कार्य सञ्चालन कार्यविधि, कार्यपालिका सदस्य चन्द्रबहादुर गुरुङले बेरुजु फर्छ्यौट सम्बन्धी कार्यविधि, शिवपुरी गा पा अध्यक्ष गोविन्दप्रसाद थपलियाले लेखा, विधायन, विकास तथा सुशासन समितिका संयोजक तथा सदस्यहरूको नाम अनुमोदनका लागि विशेष सभामा प्रस्तुत गर्नुभएको थियो ।
विशेष सभामा प्रस्तुत उक्त कार्यविधि तथा विधेयकहरु दफावार रूपमा छलफल भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले जानकारी दिनुभयो । विशेष सभाको दोस्रो बैठकले प्रस्तुत विधेयक, कार्यविधि तथा विभिन्न समिति गठनका लागि प्रस्तुत नाम पारित गर्ने जनाइएको छ ।
विशेष सभामा शिवपुरी गा पाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रस्तुत गरी छलफलका लागि विधायन समितिमा पठाइएको छ । साथै लेखा समिति, विधायन समिति र विकास तथा सुशासन समितिका संयोजक र सदस्यहरू अनुमोदन गरिएको छ ।
शिवपुरी गा पाको लेखा समिति गठन तथा कार्य सञ्चालन कार्यविधि, २०८२ र शिवपुरी गा पाको बेरुजु फर्छ्यौट कार्यविधि २०८२ सभामा पेस गरी छलफल भइरहेको छ । महालेखा परीक्षकको कार्यालयबाट प्राप्त गत आर्थिक वर्ष २०८०÷०८१ को प्रतिवेदन सभामा पेस गरी छलफलका लागि लेखा समितिमा पठाउने निर्णय गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्