पाल्पामा किवी खेतीप्रति किसानको आकर्षण बढ्दो

पाल्पा- परम्परागत खेती प्रणालीको तुलनामा किबी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि पाल्पाका किसान यसतर्फ आकर्षित भएका छन् । मकै, तोरी र कोदो जस्ता परम्परागत बालीबाट अपेक्षित आम्दानी नहुँदा किसानले वैकल्पिक रूपमा किबी खेतीलाई प्राथमिकता दिन थालेका हुन ।
हाल पाल्पामा उत्पादन भएको किवी बजारमा प्रतिकिलो तीन सयदेखि चार सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ । यहाँको किवी स्थानीय बजारसँगै बुटवल र भैरहवा हुँदै अन्य सहर सम्म पुग्ने गरेको छ ।
जिल्लाको पूर्व खोलाको जल्पा, रिब्दीकोटको कुसुमखोला, माथागढीको ओलेस र रम्भाको ताहुँलगायतका स्थानमा व्यावसायिक रूपमा किवी खेती हुँदै आएको छ । हाल करिब एक दर्जन किसानले किबी खेतीलाई मुख्य पेसाको रूपमा विस्तार गरिरहेका छन् ।
किवी खेती विस्तारका लागि पालिकाले प्राविधिक सहयोग, आवश्यक तालिम, टनेल निर्माण, नर्सरी तथा बिरुवामा अनुदान उपलब्ध गराउँदै आएको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख अमिता पाण्डेले बताउनुभयो । किवीका अन्य जातमध्ये गोल्डेन र रेड किवीलाई सबैभन्दा उत्कृष्ट मानिन्छ । यी जातका किवीको मूल्य अन्य जातको भन्दा करिब एक सय रुपैयाँ बढी पर्न जाने भएकाले किसान ती जाततर्फ बढी आकर्षित भएका छन् ।






प्रतिक्रिया राख्नुहोस्