बजेट अभावमा पुल निर्माण सुस्त गतिमा

कैलाली- कैलालीको धनगढी मोहनापुल ६ लेन सडकमा निर्माणाधीन दुई पुल निर्माणको कामले गति लिन सकेको छैन । सो सडक खण्डअन्तर्गत पर्ने त्रिनगर भन्सारको मोहना र गोदावरी नगरपालिका–५ स्थित मनहरा खोलाको पुल बजेट अभावका कारण गति लिन नसकेको हो । विसं २०७८ देखि निर्माण सुरु गरिएको पुल सुरुमा निर्माण कम्पनीले ढिलो गर्दा र पछिल्लो पटक आवश्यकताभन्दा कम बजेट विनियोजन हुँदा निर्माण कार्य सुस्त गतिमा अघि बढिरहेको महाकाली पुल आयोजना कार्यालयका इन्जिनियर सन्तोष चन्दले बताउनुभयो ।
त्रिनगर भन्सार नाका पर्ने मोहना नदीमा पुल निर्माणका लागि विसं २०७८ माघमा रायमाझी कन्स्ट्रक्सन २०८० जेठसम्म निर्माण सम्पन्न गर्ने गरी १३ करोड ३६ लाखमा सम्झौता भएको उहाँले जानकारी दिनुभयो । दोस्रो पटक म्याद थप गरिएको सो पुलको भौतिक प्रगति ५० प्रतिशत र पुल निर्माणमा हालसम्म नौ करोड भुक्तानी भइसकेको आयोजना कार्यालयले जनाएको छ । दोस्रो पटक थपिएको म्याद २०८२ चैत २८ गतेसम्म रहेको छ ।
मोहना पुलको लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख बजेट विनियोजन भएको बताउँदै इन्जिनियर चन्दले बजेट भए यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्न सकिने जानकारी दिनुभयो । गोदावरी नगरपालिका–५ स्थित मनहरा खोलाको पुल निर्माणका लागि २०७८ माघमै उच्चा कोटी–शनिदेव–साजेन्द्रलाई आठ करोड ५० लाखमा दुई वर्षमा काम सक्ने गरी ठेक्का दिइएको थियो । दोस्रो पटक म्याद थप गरिएको उक्त पुलको भौतिक प्रगति ५५ प्रतिशत मात्रै भएको छ । यो पुलको पिलर हाल्ने काम सम्पन्न भएको इन्जिनियर चन्दको भनाइ छ । उक्त पुलका लागि चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन भएको योजना कार्यालयले जनाएको छ । आयोजना कार्यालयका अनुसार गोदावरी नगरपालिका–५ स्थित सुनी खोलाको पुलको तीन करोड ५० लाखमा सम्झौता भएकोमा निर्माण कार्य सम्पन्न भई गत असार मसान्तबाट पुल सञ्चालनमा आएको छ ।






प्रतिक्रिया राख्नुहोस्