रेसुङ्गा विमानस्थल जाने सडक कालोपत्रे गरेसँगै आवातजावतमा सहज

गुल्मी- गुल्मीको सदरमुकाम तम्घासको देउरालीदेखि रेसुङ्गा नगरपालिका-१० सिमीचौरस्थित रेसुङ्गा विमानस्थलसम्म जोड्ने सडक कालोपत्रे भएपछि समग्र क्षेत्रमा उत्साह बढेको छ ।

जिल्लाको महत्वपूर्ण पूर्वाधारमध्ये पर्ने यो सडक स्तरोन्नति भएपछि स्थानीयवासी, व्यवसायी, पर्यटक तथा दैनिक यात्रुहरू सबैले ठूलो राहत अनुभव गरेका छन् ।

लामो समयदेखि अप्ठ्यारो, धुलाम्मे र वर्षायाममा अत्यधिक जोखिम मोलेका स्थानीयलाई कष्ट हुँदै आएको थियो । तम्घासको देउरालीदेखि रेसुङ्गा विमानस्थलसम्मको झण्डै पाँच किलो मिटरसडक मध्ये अहिले तीन किलोमिटर भन्दा बढी भाग कालोपत्रे भइसकेको छ ।

बाँकी सडकमा समेत तीव्र गतिमा काम भइरहेको र केही दिनभित्र पूर्णरूपमा कालोपत्रे हुने गरी काम भइरहेको संघीय आयोजना कार्यान्वयन इकाई भैरहवा रुपन्देहीका इन्जिनियर घनश्याम यादवले बताउनुभयो ।

यो सडक स्तरोन्नतिले स्थानीय नागरिकसँगै तम्घासबाट सिमीचौर रेसुङ्गा विमानस्थलसम्म आवागमन गर्न ठूलो राहत पुगेको छ ।

विशेषगरी, हवाई सेवाको पहुँच विस्तार गर्न, पर्यटन विकास गर्न तथा कृषि उत्पादन बजारसम्म पुर्‍याउन यो सडक महत्वपूर्ण आधार बन्ने स्थानीय मानबहादुर अधिकारी बताउनुहुन्छ । उहाँले सडक कालोपत्रे नहुँदा घर वरिपरी बस्नसमेत निकै कठिनाइ हुने गरेको स्मरण गर्नुभयो ।

संघीय आयोजना कार्यान्वयन इकाई भैरहवा रुपन्देहीमार्फत रेसुङ्गा नगरपालिका भित्रका विभिन्न वडामा सडक विस्तार र कालोपत्रे गर्ने काम निरन्तर भइरहेको छ ।

संघीय आयोजना कार्यान्वयन इकाई भैरहवा रुपन्देहीमार्फत करिब ३० करोडको लागतमा नगरपालिका भित्रका सडकहरु धमाधम कालोपत्रे भइरहेको इन्जिनियर यादवले बताउनुभयो ।

सडक कालोपत्रे भएपछि आवत–जावत सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ । ग्रामीण भू-भागमा पर्ने यस सडक समयमै स्तरउन्नति नहुँदा स्थानीयले वर्षेनी समस्या भोग्दै आएका थिए ।

अब भने यस सडकले विमानस्थल सम्मको पहुँचलाई थप सुदृढ बनाएको छ । सडक कालोपत्रे भएपछि तम्घासबाट रेसुङ्गा विमानस्थलसम्म पुग्ने यात्रा समय धेरै घटेको छ ।

रेसुङ्गा क्षेत्र धार्मिक, प्राकृतिक र सांस्कृतिक पर्यटनका लागि चर्चित गन्तव्य मानिन्छ । घरमा बस्दा समेत माक्स लगाएर बस्नुपर्ने अवस्थाको अहिले सडक कालोपत्रे भएपछि अत्य भएको स्थानीय लक्ष्मण अर्यालले बताउनुभयो ।

अहिले सडक कालोपत्रे हुँदा नागरिकले ठूलो राहतको महशुस गरेका छन् । गाउँका किसानहरूले पहिले धुलो, हिलो र खराब सडकका कारण समयमै उत्पादन ढुवानी गर्न नसक्ने गुनासो गर्दै आएका थिए ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.