इस्माको पालिका स्तरीय क्रिकेट प्रतियोगितामा देव दह नगरपालिकाको विजयी

गुल्मी –  गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा सम्पन्न पालिका स्तरीय क्रिकेट प्रतियोगितामा देव दह नगरपालिका, रुपन्देही विजयी भएको छ ।

परिवर्तन युवा क्लब इस्मा गाउँपालिका वडा नम्बर–१ हस्ति चौरको आयोजनामा जैढुंगा बिपी पार्क क्रिकेट खेल मैदानमा पहिलो पटक सम्पन्न भएको प्रतियोगिताले ग्रामीण क्षेत्रको खेलकुद वातावरणलाई झनै सक्रिय बनाएको छ ।

प्रतियोगिता मङ्सिर २० गतेदेखि ४ दिनसम्म सञ्चालन भएको थियो । क्लबको आयोजनामा भएको प्रतियोगिताको मुख्य प्रयोजक इस्मा गाउँपालिका रहेको थियो ।

१२ टोली सहभागी भएको प्रतियोगितामा नवदीप युवा क्लब, सिमी चौर उपविजेता बन्न सफल भएको थियो । विजेता देव दह नगरपालिकाले ५५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता नवदीप युवा क्लबले २५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।    विजेता उपविजेता सहित उत्कृष्ट खेलाडीहरूलाई प्रोत्साहन स्वरूप मेडल, प्रमाणपत्र र नगद पुरस्कार उत्कृष्ट खेल प्रदर्शन गरेका दुवै टोलीलाई इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले प्रदान गर्नु भएको थियो ।

फाइनल खेलमा देव दह नगरपालिकाले नवदीप युवा क्लबलाई १६४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । तर जवाफी खेलमा नवदीप युवा क्लब ९ विकेटको क्षतिमा ६० रनमै समेटिँदा देव दह नगरपालिका १०४ रनको अन्तरले विजयी बन्न सफल भएको परिवर्तन युवा क्लबका खेल संयोजक आशिष् पन्थीले बताउनुभयो।

प्रतियोगिताको आयोजना गरेका परिवर्तन युवा क्लबका अध्यक्ष यमबहादुर कुँवरले खेलकुदले समाजमा सकारात्मक ऊर्जा प्रदान गर्ने भएकाले आगामी दिनमा अझ ठुला र व्यवस्थित प्रतियोगिता गर्ने प्रतिबद्धता जनाउनु भयो ।

ग्रामीण स्तरमा प्रतिभा पहिचान, अवसर सिर्जना र युवा सक्रियता बढाउने उद्देश्यसहित गरिएको यो प्रतियोगिताले इस्मा क्षेत्रमा खेलकुद विकासको महत्त्वपूर्ण रूपमा हेरिएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो  ।

उहाँले खेलले युवालाई एकताबद्ध गर्ने र अनुशासन तथा आत्मविश्वास बढाउने बताउनुभयो  ग्रामीण क्षेत्रमै क्रिकेट प्रतियोगिता

इस्मा गाउँपालिकामा पहिलो पटक पालिका स्तरीय क्रिकेट प्रतियोगिता गरिएको छ । यसअघि औपचारिक रूपमा खेल मैदानको कमीका कारण ठुलो प्रतियोगिता सञ्चालन हुन नसकिरहेका बेला यसपालि सुरु भएको प्रतियोगिताले ग्रामीण भेगमै क्रिकेटप्रतिको आकर्षण अझै बढाइदिएको छ ।

खेलको माध्यमबाट युवाहरूलाई सकारात्मक मार्गदर्शन गर्ने र खेलकुदको विकासमा योगदान पुर्‍याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले क्रिकेट खेल मैदान सहितको ‘जैढुंगा बिपी पार्क’ निर्माण गरेको हो ।   पालिका भित्र खेल क्षेत्रको विकाससँगै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले छल्दी खोलामा पार्क निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । छल्दी खोलाको किनारमा निर्माण भएको खेल मैदान सहितको पार्क जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य पालिकाले लिएको छ ।    अहिले पार्कको ग्राउन्ड मिलाउने, वालि निर्माण, घेरा बार निर्माणको काम सम्पन्न भएका छन् । पार्कमा  खेल मैदान तयार गर्न दुबो रोपिएको छ ।

खेल मैदान सहितको पर्यटकीय पार्कले इस्मा क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि आनन्द लिने स्थलका रूपमा विकास हुने गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो। पार्क भित्र पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चा बच्चीको लागि प्लेजोन, पिकनिक स्पोर्टसुइमिङ्ग, बिचबिचमा पैदलमा मार्ग शौचालय, टिकट काउन्टर, पार्किङ संरचना रहनेछन् ।

पार्क निर्माणका लागि गाउँपालिकाले पछिल्लो चरणमा १ करोड ५० लाखको लागतमा विभिन्न संरचना निर्माणको लागि काम भएको छ ।  थप संरचना निर्माणको लागि प्रक्रियामा रहेको छ । सदियौँपछि सार्वजनिक जग्गा फिर्ता   इस्मा गाउँपालिकाले स्थानीयले सदियौँदेखि भोग–चलन गर्दै उपभोग गर्दै आएको करिब ८० रोपनी सार्वजनिक जग्गा फिर्ता लिएर आकर्षक क्रिकेट खेल मैदान तथा पार्क निर्माण गरेको छ ।

इस्मा गाउँपालिका वडा नम्बर–१ को जैढुंगास्थित बिपी पार्क नामक पर्यटन तथा खेलकुद संरचना निर्माणसँगै गाउँमा विकासका नयाँ सम्भावना खुलेका छन् ।

गाउँपालिकाले लामो समयदेखि सार्वजनिक उपयोगका नाममा व्यक्तिहरूले भोग चलन गर्दै आएको जग्गालाई पुनः सरकारी स्वामित्वमा दर्ता गरी संरचना निर्माणको कार्य अघि बढाएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । सोही खेल मैदानमा हाल क्रिकेट मैदान, पार्क क्षेत्र, अन्य संरचना निर्माण गरिँदै छ । यसले गाउँपालिकामा पहिलो पटक व्यवस्थित खेल मैदानको आवश्यकता पूरा गर्ने कार्य अगाडी बढेको खड्काले बताए । निर्माण भइरहेको क्रिकेट मैदान अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुने र भविष्यमा ठुला प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखिएको छ ।

युवाहरूको भविष्यको सोच्दै खेलकुद संरचना विकासलाई प्राथमिकता दिइएको इस्मा गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष शेरबहादुर कुँवरले बताउनुभयो । स्थानीय बासिन्दाले दशकौँदेखि भोग चलन गर्दै आएका जग्गा फिर्ता लिँदा प्रारम्भमा केही चुनौती देखिए पनि अहिले अधिकांशले नयाँ संरचना र विकासका गतिविधिलाई स्वागत गरेको पालिका अध्यक्ष खड्काको भनाइ छ ।    आधुनिक मैदान निर्माणसँगै खेल पर्यटन बढ्ने र गाउँको आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले पार्क क्षेत्र, खेल मैदान, विश्राम स्थल तथा आवश्यक सुविधासहितको नमुना सार्वजनिक संरचना निर्माणलाई निरन्तरता दिने जनाएको छ ।

इस्मा गाउँपालिका हाल जिल्लामा खेल पर्यटन विकासका नयाँ गन्तव्यका रूपमा उदाउँदै गएको स्थानीयले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.