म्याग्दीको चाङ्गा : पर्यटक र पूर्वाधारको प्रतीक्षामा (फोटोफिचर)

म्याग्दी– माथि पाखोमा पुगेपछि पूर्व र दक्षिणतर्फ फर्किएर हेर्ने हो भने दन्ते लहर जस्तै हिमालहरु देखिन्छन् । यहाँबाट धवलागिरि र अन्नपूर्ण रेञ्जमा पर्ने सबै हिमश्रृङ्खलाहरु धित मरुन्जेल हेर्न सकिन्छ । तलतिर अर्मन र सिरकुम गाउँ अनि वरिपरी तरेली परेका डाँडाकाँडाहरुको सौन्दर्य देख्न पाइन्छ ।
चाङ्गामा वर्षा, हिउँद र वसन्त ऋतुमा फरकफरक दृश्यहरु भेटिन्छन् । यस्तै–यस्तै विशेषताहरु बोकेर पूर्वाधार तथा पर्यटकहरुलाई पर्खिएर बसिरहेको छ, म्याग्दीको भर्जिन पर्यटकीयस्थल चाङ्गा क्षेत्र । पर्यटकीय आकर्षणको सम्भावना बोकेको चाङ्गा मंगला गाउँपालिका–५, अर्मन म्याग्दीमा पर्दछ । आजभोलि चाङ्गा क्षेत्रलाई खुब जवानी चढेको छ । भिरालो, अग्ला डाँडापाखा र पहाड तथा खोंचमा छरिएर बसेको अर्मन गाउँको सिरानमा पर्यटकीय चाङ्गा पर्दछ ।
हिमाली जिल्ला म्याग्दीको भर्जिन पर्यटकीय गन्तव्यको रुपमा चिनिएको चाङ्गा क्षेत्र आफैमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । समुन्द्री सतहदेखि झण्डै २२ सय मिटरको उचाइमा अवस्थित चाङ्गा क्षेत्र समथर भू–भागमा बसेको छ । वरिपरीबाट हरियाली वनजङ्गल र डाँडाकाँडाले घेरिएको चाङ्गा क्षेत्रको भ्रमण गर्न जाने जो, कोही वा पर्यटकहरु पनि मन्त्रमुग्ध हुन्छन् । चाङ्गाको समथर भू–भाग पाखोमा स्थानीयले दिनभरजसो भेडा–बाखा, गाईगोरु र भैंसी चराउने गर्दछन् । चाङ्गामा मगर समुदाय र विश्वकर्माका २० भन्दाबढी घरधुरीले बसोबास गर्दछन् ।
चाङ्गा गाउँमा मकै, सिमी, आलु, फापर, कोदो, गहुँ, जौलगायत खाद्यान्न बालीको उत्पादन हुन्छ । यहाँ घना, वन क्षेत्र पनि रहेको छ । यहाँको वन, जङ्गलमा सतुवा, तिते, चिराईतो, टिम्मुरलगायत जडिबुटी र मृग, वनकुखुरा, चितुवा, भालु, दुम्सी, बाँदर, बँदेल जस्ता जङ्गली जनावहरु रहेको स्थानीयवासी बताउँछन् । यहाँ लेकाली फलफूल तथा तरकारीहरु मुला, सागलगायत अर्गानिक उत्पादन समेत हुने गरेको छ ।
मौसम खुलेको समयमा चाङ्गा क्षेत्रबाट धौलागिरि र अन्नपूर्ण रेन्जमा पर्ने सबै हिमालहरु छर्लङ्गै देखिने स्थानीय समेत रहनुभएका मंगला गाउँपालिका ५ नम्बर वडाका वडा अध्यक्ष भूपेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार यस ठाउँबाट धौलागिरि, मानापाथी, निलगिरी, अन्नपूर्ण, बराहशिखर, माछापुच्छे«, गूर्जा, चुरेनलगायत मनोरम हिमश्रृङ्खलाहरुको एकै ठाउँबाट दृश्यावलोकनसँगै मालिका गाउँपालिका र बेनी नगरपालिकाको पर्यटकीय क्षेत्रसहित विभिन्न भू–भागहरु समेत अवलोकन गर्न सकिन्छ ।
साथमा दरबाङ, बाबिचायौर, तातोपानी बजार क्षेत्र, नागबेली आकारमा म्याग्दीखोलाको किनारसँगै पहाड र हिमालको मनोरम दृश्यहरु एकै ठाउँ चाङ्गा धुरीबाट देखिन्छन् । चाङ्गाको भ्रमण गर्न आउने पर्यटकहरुलाई चाङ्गावासीले फूलैफूलको माला लगाइदिएर स्वागत, सत्कार समेत गर्ने गर्दछन् । पर्यटन प्रवद्र्धका लागि मंगलाको चाङ्गा क्षेत्र सम्भावित पर्यटकीयस्थल रहेकाले यसको दीगो विकास र प्रवद्र्धनमा विशेष रुपमा जोड दिनुपर्ने धौलागिरि पर्यटन परिषद म्याग्दीका अध्यक्ष अमर बानियाँले बताउनुभयो ।
पर्यटकीय क्षेत्रको रुपमा रहेको चाङ्गाको पर्यटन प्रवद्र्धन गर्नको लागि मंगला गाउँपालिकाले चाङ्गा गाउँसम्मै पुग्ने सडक विस्तार गरिदिएको छ । पर्यटकीयस्थल चाङ्गा क्षेत्रको प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धनमा स्थानीय उत्पादनको बजारीकरण, भेडीगोठलाई व्यवस्थित बनाउन र स्थानीयलाई होमस्टे तालिम दिएर घरबास कार्यक्रम सञ्चालन गर्न सकेको खण्डमा चाङ्गा क्षेत्रले विकास र प्रवद्र्धनमा फड्को मार्न सक्ने सम्भावना देखिन्छ ।












प्रतिक्रिया राख्नुहोस्