लगानी अभावमा पलायन हुँदै च्याउ खेती गर्ने कृषक

पाल्पा- लगानीको लागि पुँजीको अभाव र भरपर्दो बजार नहुँदा पाल्पा जिल्लाका च्याउ कृषक बिस्तारै विस्थापित हुन थालेका छन् । आधा दशक अघिसम्म जिल्लाका विभिन्न ठाउँमा च्याउ खेती गर्दै आएका च्याउ कृषक र समूह उचित मूल्य सहितको बजारीकरणको अभाव झेल्न बाध्य हुनु परेको छ ।
व्यावसायिक च्याउ खेतीको सुरुवात गरेका पाल्पाका किसानहरू पछिल्लो समय पलायन हुने अवस्थामा पुगेका छन् । लामो समय देखि च्याउ खेतीमा हात हालेका किसान अहिले बजारीकरण र लगानीको अभावमा विस्थापित हुने अवस्थामा पुगेका हुन । २०६४ सालबाट जिल्लामा व्यवासयिक च्याउ खेती सुरु गर्नुभएका तानसेन ८ जरेपिपलका केशव कार्की अहिले करोडौँ लगानीको च्याउ खेती छोड्ने अवस्थामा हुनुहुन्छ ।
स्थानीय निकाय तानसेन नगरपालिका, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बैङ्क तथा वित्तीय संस्था देखि प्रदेश र सङ्घ सरकारले समेत बेवास्ता गर्दा आफूहरूले बसौँ अघिबाट अँगाल्दै आएको च्याउ खेती व्यवसाय अहिले सङ्कटमा परेको कृषक कार्कीको गुनासो छ ।
प्लास्टिक घर टनेलबाट च्याउ उत्पादन सुरु गर्नुभएका कार्कीले च्याउलाई पछिल्लो केही वर्ष यता व्यावसायिकसँगै च्याउमा विविधीकरण समेत ल्याउनु भएको थियो ।
आयुर्वेदिक हिसाबले निकै फलदायी मानिने ग्यानोर्डमा रातो च्याउ, सिटाके, कन्य र डल्ले गरी आधा दर्जन बढी च्याउको उत्पादन गदै आउनु भएका कार्कीले यसलाई विविधीकरण गरी च्याउको कफी, मस्यौरा, सिन्की समेत बनाउँदै आउनुभएको थियो तर अहिले बिक्री हुनै छाडेको छ । जसले आफूजस्तै दर्जन बढी च्याउ उद्योगीलाई निराश बनाएको उहाँको भनाई छ ।
भैरव च्याउ उद्योग प्रालि नै दर्ता गरेर च्याउलाई उद्योगको रूपमा विकास गरी संयौं जनालाई रोजगारी दिने लक्ष्य राखिए पनि उद्योग नै बन्द हुने स्थितमा पुगेको हो । कार्की मात्रै होइन च्याउ उद्योगमा हात हालेका तानसेन १० का नारायण तिम्ल्सिेना पनि च्याउ व्यवसायलाई विट मार्ने स्थितिमा पुग्नु भएको छ ।
कृषि प्रधान देशमै कृषक यसरी निराश बनेर गर्दै आएको व्यवसायबाटै हात धुने स्थितमा पुगेका छन् । त्यस कारण कृषि अनि त्यसमा पनि च्याउ खेती गर्दै आएका कृषकलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन आवश्यक छ भने पलायन हुने स्थितमा पुगेका कृषकको पहिचान गरी कृषिमै टिकाई राख्ने वातावरणको सिर्जना हुन आवश्यक छ ।






प्रतिक्रिया राख्नुहोस्