देशमाभर निर्वाचनको वातावरण बनेको छ- सञ्चार मन्त्री

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश निर्वाचनमा होमिएको बताउदै आवश्यक वातारण पनि बनेको बताउनुभएको छ ।
सञ्चार मन्त्रालयमा सरकारको सय दिनमा मन्त्रालयले गरेका कामको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री खरेलले राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर अहिले चुनावको वातावरण छाएको उल्लेख गर्नुभयो ।
सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा समेत उल्लेख्य काम गरेको बताउदै सञ्चारमन्त्री सरकार जेन–जी आन्दोलनको मर्मअनुसार अघि बढेको स्पष्ट पार्नुभयो । उहाँले हालै सरकार र जेनजी प्रतिनिधिबीच भएको सहमतिमा राजनीतिक दलहरुको असमत हुनुपर्ने कारण नभएको पनि बताउनुभयो ।
सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम
काठमाडौँ, ६ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा विभिन्न उपलब्धि हासिल भएका छन् । उहाँले गत असोज ६ गते सञ्चारमन्त्रीको रुपमा नेतृत्व लिनुभएको हो ।
मन्त्री खरेलले सिंहदरबारस्थित मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी मन्त्रीको रुपमा पदबहाली भएको तीन महिनामा सम्पन्न भएका आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, मुद्रण, चलचित्र र अन्य विभिन्न क्षेत्रका ३० उपलब्धिहरू सार्वजनिक गर्नुभएको हो । उहाँले सो अवधिमा उल्लेखनीय कार्य सम्पादन गरेको बताउनुभयो ।
मन्त्री खरेलले भन्नुभयो, “धेरै चुनौतीका बीच यति मुख्य उपलब्धि हासिल भएका छन् । आगामी दिनमा इमान्दारिकता साथ काम गरिन्छ ।”
यसअवधिमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरण, सुरक्षण मुद्रण केन्द्रबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामदेखि दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच, सगरमाथाको आधार शिविरमा ‘फोरजी’ सेवा विस्तारसम्मका महत्वपूर्ण काम भएका छन् । मन्त्री खरेलले तीन महिनाको अवधिमा आमसञ्चार क्षेत्रमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरण, एनटिभि वल्र्डको शुभारम्भ, स्व पत्रकार सुरेश रजकलाई सहिद घोषणा, गोरखापत्रमा कुलुङ भाषा थपसहित ४६ भाषामा समाचार तथा रेख रचना प्रकाशन भएको जानकारी दिनुभयो ।
यस्तै दूरसञ्चार क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेटतर्फ काठमाडौँ उपत्यकाका १९ सार्वजनिक स्थानमा जडान गरिएको र उपत्यका बाहिर २९ स्थानमा वाइफाइ जडानका लागि पक्रिया अघि बढाइएको मन्त्री खरेलले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा १५ वायरलेस साइट जडान गरिएको, नेपाल टेलिकमको सक्रिय ग्राहक सङ्ख्या दुई लाख वृद्धि, जेनजी डाटा प्याक कार्यान्वयन, एभरेष्ट वेस क्याम्पमा फोरजी सेवा विस्तारलगायतका कार्य सम्पन्न गरिएका उहाँले बताउनुभयो ।
मन्त्री खरेलले जेन्जी घाइते पत्रकार सम्मान, जेनजी आन्दोलनको क्षतिको विवरण तयार, सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकार तथा कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्धतालगायतका उपलब्धि सार्वजनिक गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्