एनपीएल–२ ट्रफीसहित दाङमा लुम्बिनी लायन्सको विजय उत्सव

दाङ- नेपाल प्रिमियर लिग (एनपीएल)–२ को ट्रफीसहित लुम्बिनी लायन्सको टोलीले आज दाङको तुलसीपुर र घोराहीमा विजय उत्सव मनाउँदै बजार परिक्रमा गरेको छ।
दाङको घोराहीस्थित ट्राफिक चोकबाट सुरु गरिएको ट्रफी परिक्रमा बजार क्षेत्र हुँदै गुलरियामा रहेको क्रिकेट मैदानमा पुगेर टुङ्गिएको थियो। ट्रफीसहित मैदानमा पुगेको टोलीले स्थानीय खेलाडी तथा क्रिकेट प्रेमीहरूको उत्साह बढाएको थियो। ट्रफी अवलोकनका लागि खेल प्रेमी, युवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
आन्तरिक क्रिकेटको ठुलो धनराशिसहित सम्पन्न नेपाल प्रिमियर लिग–२ को उपाधि जितेको लुम्बिनी लायन्सले प्रदेशभर ट्रफी टुरमार्फत विजय उत्सव मनाइरहेको छ। यसअघि नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा पूजा अर्चना गरी बर्दियाको गुलरिया र बास गढी बजारमा ट्रफी परिक्रमा गरिएको थियो।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा ट्रफी पुर्‍याउने कार्य तालिका अनुसार हिजो दाङ, आज रोल्पा हुँदै रुकुमपुर्व जाने कार्यक्रम रहेको नेपाल क्रिकेट सङ्घ क्यानका केन्द्रीय सदस्य प्रदीप मज्गैयाले जानकारी दिनुभयो।
यद्यपि, ट्रफीसहित खेलाडीहरू उपस्थित नभएकामा केही स्थानमा स्थानीयले खल्लोपन महसुस गरेका छन्। मौसम खराबीका कारण हवाई सेवा अवरुद्ध हुँदा लुम्बिनी लायन्सका खेलाडीहरू ट्रफी टुरमा सहभागी हुन नसकेको जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.