इङ्ल्याण्डसँग नेपाल ४ रनले पराजित

काठमाडौँ- आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपाल इंग्ल्याण्डसँग पराजित भएको छ।नेपाल इङ्ल्याण्डसँग ४ रनले पराजित भएको हो ।
१८५ रनको लक्ष्य पाएको नेपालले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा जम्मा १८० रन जोड्यो ।
जितका लागि १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १८० रनमा समेटियो । नेपालका लागि दीपेन्द्र सिह ऐरीले सर्वाधिक ४४ रनको योगदान दिए र उनले २९ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ४४ रन जोडे ।
यसैगरी कप्तान रोहित पौडेल र लोकेश बमले समान ३९÷३९ रन बनाए भने कुशल भुर्तेलले २९ रन जोडे । आरिफ शेखले १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । आसिफ शेख सात रनमा आउट भए भने गुल्सन झा एक रनमा आउट भए ।
बलिङमा इङ्ल्यान्डका लियम डसनले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको इङल्यान्डले निर्धारित २० ओरभमा सात विकेट गुमाउँदै १८४ रनको योगफल बनाएको थियो । इङ्ल्याडका लागि ज्याकब बेथेल र कप्तान ह्यारी ब्रूकले अर्धशतक बनाए ।
ज्याकबले ३५ बलमा चार चौका र चार छक्काको सहयोगमा सर्वाधिक ५५ रन जोडे । यसैगरी कप्तान ह्यारीले ३२ बल खेल्दै चार चौका र तीन छक्का प्रहार गर्दै ५३ रन बनाए ।
विल ज्याक्सले अविजित ३९ रनको योगदान दिँदा जस बटलरले २६ रन बनाए ।
बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान दुई÷दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले समान एक÷एक विकेट झारे । शनिबारदेखि सञ्चालन भएको विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ ।
नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छ । नेपालले आफ्नो दोस्रो खेल यही माघ २९ गते इटालीसँग खेल्नेछ ।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा भएको खेलमा इङ्ल्याण्डले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्