भारतको नयाँ दिल्लीमा इन्डो-नेपाल ट्रेड फेस्टिभल हुँदै

काठमाडौँ- इण्डो-नेपाल ट्रेड फेस्टिभलको दोश्रो सत्र यही २० देखि २२ फेब्रुअरीसम्म भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरिँदैछ ।

सो फेस्टिभलको उद्घाटन सत्रमा नेपालका लागि भारतका राजदूत डा. शंकर प्रसाद शर्मा, विशिष्ट अतिथि भारत सरकारका पर्यटन मन्त्री गजेन्द्रसिंह शेखावत, भारत सरकारका केन्द्रीय संचारमन्त्री ज्योतिरादित्य सिंधिया, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायतको सहभागिता रहनेछ ।

पहिलो संस्करणको उल्लेखनीय सफलतापछि यो फेस्टिभल भारत–नेपालबीच द्विपक्षीय आर्थिक सहकार्य, पर्यटन एकीकरण, सांस्कृतिक आदान–प्रदान तथा लगानी साझेदारी सुदृढ गर्ने  मञ्चका रूपमा स्थापित भएको छ ।

यस पटकको महोत्सवमा जलविद्युत तथा ऊर्जा साझेदारी,सीमापार व्यापार तथा कनेक्टिभिटी,रामायण र बौद्ध सर्किटसहित पर्यटन एकीकरण, बैंकिङ, फिनटेक तथा डिजिटल अर्थतन्त्र सहकार्य,मिडिया तथा सांस्कृतिक कूटनीति, युवा सहभागिता, शिक्षा तथा नवप्रवर्तन साझेदारी, स्टार्टअप इकोसिस्टम तथा इन्डो–नेपाल सहकार्यको ‘भिजन’ २०३० लगायतका विषयमा विभिन्न दश भन्दा बढी उच्चस्तरीय सत्र तथा नीतिगत संवादमा ६० जना भन्दा धेरै विषय विज्ञहरु सहभागी हुनेछन ।

नयाँ दिल्लीस्थित पिएडी चेम्बरको भवनमा आयोजना हुने महोत्सवमा व्यवसाय तथा नीतिगत छलफलसँगै महोत्सवमा नेपालको समृद्ध सांस्कृतिक सम्पदा, साँगितिक कार्यक्रम, चलचित्र प्रदर्शन, परम्परागत कला प्रस्तुत हुनेछ ।

मंगलबार नयाँ दिल्ली स्थित प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा इसीसीआईका अध्यक्ष युबराज बरालले फेस्टिभल बारे जानकारी गराउँदै इन्डो–नेपाल ट्रेड फेस्टिभल व्यापार, पर्यटन, संस्कृति र नवप्रवर्तनमार्फत द्विपक्षीय सहकार्य सुदृढ गर्ने परिवर्तनकारी मञ्चका रूपमा परिकल्पना गरिएको बताउनुभयो ।

भारतमा रहेका नेपाली उद्योगी व्यवसायीहरुको छाता संगठन एभरेष्ट चेम्बर अफ कमर्श (इसीसीआई) को मुख्य आयोजना, नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड तथा व्यापार तथा प्रबर्द्धन केन्द्रको सहकार्यमा महोत्सव आयोजना गर्न लागिएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.