मतपेटिका संकलन भएको २४ घण्टाभित्रै मतपरिणाम आउँछ: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ।

निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन गरी गणना कार्य द्रुत गतिमा अघि बढाउने योजना बनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले परिणाम आउन समय नलाग्ने जानकारी दिनुभयो।

समानुपातिक मत परिणाममा एक-दुई दिन लागे पनि प्रत्यक्षतर्फको परिणाम मतपेटिका संकलन भएको २४ घण्टाभित्रै घोषणा गरिने आयोगले तयारी गरेको जानकारी उहाँले दिनुभयो ।

निर्वाचन तयारीका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको र आयोग पूर्ण रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको उहाँले जानकारी दिनुभयो। मतपत्र छपाइदेखि ढुवानीसम्मको जटिल व्यवस्थापकीय काम सम्पन्न भइसकेको र कर्मचारीहरू कार्यक्षेत्रमा खटिएको पनि उहाँले बताउनुभयो।

हिमाली क्षेत्रमा अस्थायी मतदान केन्द्र निर्धारण गर्ने सन्दर्भमा भने आयोगले निर्णय गर्न बाँकी रहेको बताउदै भौगोलिक विकटता र मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै यदि आवश्यक पर्‍यो भने मतदाताहरू जहाँ हुनुहुन्छ त्यहीं गएर मत सङ्कलन गर्ने निर्णय गरिने तयारी पनि आयोगले गरिरहेको उहाँले बताउनु भयो ।

निर्वाचनको मुखमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने काम नगर्न कार्यवाहक प्रमुख आयुक्त भण्डारीलेआह्वान गर्नुभयो।
प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुने छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.