नेप्सेको वेबसाइटमा देखिएको समस्या समाधान

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेबसाइटमा देखिएको प्राविधिक समस्या करिब डेढ घण्टापछि समाधान भएको छ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार आजको कारोबार बन्द भएको केही समयपछि केही कम्पनीको शेयर मूल्य शून्य देखिएको थियो ।

“केही कम्पनीको क्लोजिङ प्राइस शून्य देखाउँदा समग्र परिसूचकमा ठूलो अङ्कको गिरावट देखिएको थियो । यो प्राविधिक त्रुटि हो, त्यो समस्या समाधान भइसकेको छ”, उहाँले भन्नुभयो ।

आज नेप्से परिसूचक १९ दशमलव २७ अङ्कले बढेर दुई हजार ६७४ दशमलव २० को बिन्दुमा कायम भएको थियो, तर बजार बन्द भएको करिब आधा घण्टापछि परिसूचक ८८५ दशमलव ३२ अङ्कले घटेर एक हजार ७६९ मा पुगेको देखिएको थियो । जुन ३३ दशमलव ३४ प्रतिशतको गिरावट हो । नेप्से परिसूचकमा एकाएक ठूलो अङ्कको गिरावट देखिएपछि लगानीकर्तामा अन्यौलता देखिएको थियो भने केही लगानीकर्ताले बारम्बार यस्ता समस्या दोहोरिन थालेको भन्दै सामाजिक सन्जालमा गुनासो पोखेका थिए ।

नेप्सेको प्राविधिक टोलीले समस्या समाधान गरिसकेको र परिसूचक पहिलेकै अवस्थामा देखिएको प्रवक्ता पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.