जन्मथलो र देश निर्माण मुख्य उद्देश्यः बोधनारायण श्रेष्ठ

धादिङ- धादिङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित रास्वपा प्रतिनिधि बोधनारायण श्रेष्ठ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं. २, मैदीमा करिब साढे पाँच दशकअघि जन्मिनु भएको हो । आफ्नो जन्मथलो र देश निर्माण गर्ने उद्देश्यका साथ इमान, जमान र लगनका साथ निरन्तर सक्रिय व्यक्तित्व हुनुहुन्छ । उहाँले राजनीतिशास्त्रमा स्नातक तथा ग्रामीण विकासमा स्नातकोत्तर अध्ययन गर्नुभएको छ । जीवन यात्रामा देशका ६९ जिल्ला तथा विश्वका केही मुलुकहरू भ्रमण गरिसक्नुभएको छ ।
उहाँले शिक्षण पेशाबाट आफ्नो कार्ययात्रा धादिङ जिल्लाबाट प्रारम्भ गर्नुभएको हो । त्यसपछि नेपाल रेडक्रस सोसाइटीको भातृ संस्थाको उपसभापति तथा सङ्गठन व्यवस्थापकको जिम्मेवारी सम्हाल्दै जिल्लाव्यापी कार्यक्रमहरूमा सहभागिता जनाउँदै सहयोग पुर्याउनुभएको छ । त्यस्तै, बुढीगण्डकी जलविद्युत् आयोजनामा सल्लाहकार तथा बुढीगण्डकी क्याम्पस ज्वालामुखी धादिङका संस्थापक अध्यक्षका रूपमा समेत सेवा गर्नुभएको छ ।
यसपछि उहाँ संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफको खानेपानी तथा सरसफाइ विभागमा करिब १७ वर्ष अधिकृतको रूपमा कार्यरत रहनुभयो । यस अवधिमा जिल्ला, प्रदेश तथा केन्द्र तहमा लामो अनुभव हासिल गर्नुभएको छ । कामको सिलसिलामा सयौँ तथा हजारौँ तालिम तथा गोष्ठीहरू गाउँ, जिल्ला, प्रदेश, केन्द्र तथा अन्तर्राष्ट्रिय तहमा सञ्चालन तथा सहभागिता जनाउनुभएको छ । सरसफाइ, स्वच्छता र खानेपानीसम्बन्धी धेरै लेख तथा रचनाहरू लेख्दै आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको छ ।
सामाजिक सेवासँगै उहाँको जागिरे जीवनमा नवीनतम् रुपले प्रवर्तक बनी कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ । विद्यालयको अगुवाइमा पूर्ण सरसफाइ अवधारणा लागू गर्दै सरसफाइ अभियानलाई आन्दोलनको रूपमा सञ्चालन गर्नुभएको छ । नेपालकै पहिलो सरसफाइ महोत्सव भव्य रूपमा सम्पन्न गरिएको छ । “सफाइ गरौँ” योजना तयार तथा कार्यान्वयन गरी देशलाई मार्गदर्शन गर्न सक्ने आधार निर्माण गर्नुभएको छ । आफ्नो दिल, दिमाग र देहले देशलाई सरसफाइ क्रान्तिको मार्गमा अघि बढाउँदै दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त घोषणा सन् २०१९ मा सम्पन्न गरी विश्वलाई चिनाउन सफल हुनुभएको छ ।
सरसफाइ र स्वच्छता कार्यक्रम सञ्चालनको परिणामस्वरूप झाडापखाला रोगको दरमा उल्लेखनीय कमी आई बालमृत्यु दर सन् १९९० मा १४,३३४ बाट सन् २०१९ मा विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार ७१० मा झरेको छ । यसले लाखौँ बालबालिकालाई मृत्यु तथा अपाङ्गताबाट जोगाउन ठूलो योगदान पुर्याएको छ । आफ्ना अधिकार र कर्तव्यबारे जानकारी नपाएका बालबालिकाका लागि यो भन्दा ठूलो योगदान अर्को हुनै सक्दैन । यही योगदानको कदरस्वरूप नेपाल सरकार तथा गैरसरकारी संस्थाहरूबाट उहाँलाई “सरसफाइ हिरो”, “योद्धा” र “च्याम्पियन” उपाधिबाट सम्मान गरिएको छ ।
बोधनारायण श्रेष्ठका अन्य अनुभव तथा दक्षतामा मधेश, बागमती, लुम्बिनी, गण्डकी, कोशी तथा कर्णाली प्रदेशमा प्रत्यक्ष कार्यानुभव, नेपाली राजनीति र सामाजिक अध्ययन, व्यवहारिक प्रयोग तथा अनुभव, जलवायु परिवर्तनसम्बन्धी कार्य, विकास प्रक्रियामा नागरिकको अर्थपूर्ण सहभागिता, राजमार्ग सुरक्षा तथा प्राथमिक उपचार अवधारणाको विकास र अभियान सञ्चालन, नीति तथा प्रणाली निर्माण, सङ्घीय प्रक्रिया र स्थानीय सरकारसँग प्रत्यक्ष समन्वय तथा सहकार्य, सङ्घीयता कार्यान्वयन क्रममा योजना तथा कानुन निर्माण प्रक्रियामा संलग्न भई नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ ।
उहाँले संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफबाट प्राप्त उच्च पद र सुविधा त्याग्दै “सेवा नै धर्म हो, सेवा नै कर्म हो” भन्ने सोचका साथ राजनीति क्षेत्रमा प्रवेश गर्ने निर्णय गर्नुभएको छ । कुनै एउटा स्थान वा क्षेत्र मात्र नभइ सम्पूर्ण देशलाई सुशासन, नीति, विधि र भ्रष्टाचारमुक्त कसरी बनाउन सकिन्छ भन्ने सोचका साथ उहाँ चुनौतीका बीच पनि अघि बढ्ने अठोट राख्नुहुन्छ । उहाँको बानी–व्यवहार, स्वच्छता अभियानप्रतिको प्रतिबद्धता, देश विकास र समृद्धिप्रतिको संकल्प, व्यक्तिगत इमान्दारिता तथा सामाजिक सेवामा समर्पणले उहाँलाई राजनीतिक अभियन्ताको रूपमा अगाडि बढ्ने प्रेरणा मिलेको छ ।
“गरे के हुँदैन” भन्ने उक्तिलाई सार्थक बनाउँदै “संयुक्त प्रयास नै सफलताको कुञ्जी हो” भन्ने विश्वासका साथ देशलाई चौतर्फी विकास गर्न सकिन्छ र गर्नुपर्छ भन्ने व्यक्तित्व बोधनारायण श्रेष्ठ हुनुहुन्छ ।






प्रतिक्रिया राख्नुहोस्