प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको अवस्था निरीक्षण

काठमाडौँ-  प्रधानमन्त्री सुशीला कार्कीज्यूले आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको अवस्थाको निरीक्षण अवलोकन गर्नुभएको छ ।
बबरमहलस्थित प्रशासन कार्यालयमा पुगेर प्रधानमन्त्री कार्कीले सेवा प्रवाहमा अपनाइएको सार्वजनिक सम्बोधन प्रणाली (पब्लिक अनाउन्समेन्ट सिस्टम) बारे जानकारी पनि लिनुभयो ।

यस क्रममा उहाँले सेवाग्राहीसँग अन्तर्क्रिया पनि गर्नुभयो ।काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सेवालाई छिटोछरितो र झन्झटरहित ढंगले प्रवाह गर्न सूचना प्रविधिमा आधारित प्रणाली लागू गरिरहेको जानकारी गराउनुभयो।

सेवाग्राहीले टोकन लिएर निश्चित समयावधिभित्र सेवा लिन सक्ने यो प्रणाली लागू गरिएपछि गुनासो शून्य भएको र बिचौलियाको भूमिका पनि समाप्त भएको उहाँको भनाइ थियो।

उहाँका अनुसार दैनिक सरदर एक हजार सेवाग्राही आउने यस कार्यालयका प्रत्येक काउन्टर र शाखाको सीसीटीभीबाट अनुगमन गर्न सकिन्छ। गुनासा वा कार्यगत जटिलताहरु ठाउँको ठाउँ सम्बोधन गरिन्छ। सेवाग्राहीलाई वाईफाई, तातो पानी र चिसो पानीको व्यवस्था छ।

प्रजिअ पौडेलले जेनजी आन्दोलनका क्रममा युवाले उठाएको सुशासनको आवाज सम्बोधन गर्ने क्रममा सेवा प्रवाहको यो ढाँचा अपनाइएको र यसलाई जेनजी योद्धाहरुमै समर्पित गरिएको बताउनुभयो। यो प्रणाली कार्यान्वयन गर्न काठमाडौँ जिल्लाका स्थानीय तहहरुसँग पनि समन्वयन र सहकार्य गरिएको उहाँले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘सबै सेवाग्राहीलाई सम्बोधन गर्न र उहाँहरुको अनुहारमा खुसी ल्याउन सक्छौँ भन्ने कुरा यस प्रणालीको सफल कार्यान्वयनबाट पुष्टि भएको छ। त्यसैले यसलाई हामीले जेनजी सुशासन योद्धाप्रति समर्पित गरेका छौँ।’जनतालाई सेवा प्रवाह गर्न अपनाइएको यस प्रणालीको प्रशंसा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो ढाँचा देशैभरका सेवाग्राहीको चाप भएका कार्यालयमा लागू गर्न आवश्यक रहेको बताउनुभयो।

‘जेनजी युवाले सडकमा उठाएको सुशासनको आवाज सम्बोधन गर्न काठमाडौँ प्रशासनले थालेको नमुना कार्य प्रशंसनीय छ,’ उहाँले भन्नुभयो, ‘हामीले छोटो कार्यकालमा देशैभरका कार्यालयमा त गर्न सकेनौँ। तर यहाँबाट सुरु गरेका छौँ। अब देशैभरका सेवाग्राहीको बढी चाप हुने कार्यालयमा विस्तार गर्नुपर्छ।’पूर्वप्रधानन्यायाधीश समेत रहनुभएकी प्रधानमन्त्री कार्कीले न्यायालयमा पनि यस्तै प्रणाली स्थापित गर्ने जमर्को गरेको स्मरण गर्दै त्यसै परिकल्पनाअनुसारको काम आज प्रशासन कार्यालयमा देख्न पाएकोमा खुसी व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, ‘यसका निम्ति प्रमुख जिल्ला अधिकारी र कार्यालयका सम्पूर्ण कर्मचारीलाई म बधाई र धन्यवाद दिन्छु। हामीले खोजेको यस्तै हो। जेनजीले पनि खोजेको यही हो। आँटे र गरे हुन्छ भन्ने कुराको उदाहरण हो यो।’अनुगमनका क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल पनि हुनुहुन्थ्यो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.