सरकारी कार्यालयहरुमा आजदेखि ‘शून्य बाँकी फाइल अभियान’ सुरु

काठमाडौँ- सरकारी कार्यालयमा आजदेखि शून्य बाँकी फाइल अभियान सुरु भएको छ।

सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्काएर निर्णयमा ढिलाइ हुने प्रवृत्ति रोक्न आजदेखि ‘शून्य बाँकी फाइल अभियान’ सुरु भएको हो ।

तल्ला निकायबाट कार्यान्वयन गर्नुपर्ने फाइल अनावश्यक रूपमा माथिल्लो तहमा पठाउदा सेवाप्रवाह प्रभावित हुने अवस्थालाई कम गर्न सरकारले सबै सरकारी कार्यालयमा शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन गर्न लागेको स्पष्ट पारेको छ ।

त्यसका लागि सरकारले ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरिसकेको छ ।

कुनै पनि चालु अवस्थामा रहेका फाइल अनिश्चित समयसम्म अड्केर नबसोस्, जिम्मेवारी स्पष्ट होस् र काम हुने वा नहुने विषयको समयमा टुङ्गो लागोस् भन्ने अभियानको उद्देश्य छ ।

अभियान आगामी वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।

जसअनुसार अब तीन दिन, सात दिन वा १५ दिनभन्दा बढी समयदेखि रोकिएका फाइलमा स्वतः समीक्षा प्रक्रिया लागू गर्नुपर्नेछ ।

निर्णय गर्न सकिने विषयलाई अनावश्यक रूपमा माथिल्लो तहमा नपठाइ सम्बन्धित तहबाट टुङ्ग्याउने पद्धतिको विकास गर्नुपर्ने भएकाले यो अभियान सञ्चालन गरिएको हो ।

अभियान सञ्चालनपछि पेन्डिङ फाइलको सङ्ख्या घट्ने, जिम्मेवारी स्पष्ट हुने, निर्णय प्रक्रियामा गति आउने, सेवा प्रवाहमा सुधार हुने, कार्यालयमा फाइल थन्किने संस्कारमा कमी आउने विश्वास सरकारको छ ।

साथै जानाजान फाइल थन्क्याउने, अनावश्यक ढिलाइ गर्ने वा जिम्मेवारीबाट पन्छिने कर्मचारीको हकमा प्रचलित कानुन बमोजिम विभागीय कारवाही प्रक्रिया अगाडि बढाउन सकिने भन्दै सरकारले सरोकारवाला सबैलाई जानकारी गराएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.