सांसदहरुले अर्थमन्त्री बैठकमा उपस्थित गराउन माग गरेपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिको माग गर्दै सांसदहरूले सभामुखको ध्यानाकर्षण गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुँदा अर्थमन्त्रीको उपस्थिति अनिवार्य रहेको बताउनुभयो । उहाँले अर्थमन्त्री उपस्थित हुनैपर्ने अडान राखेपछि सभामुख डोलप्रसाद अर्यालले त्यसबारे अर्थमन्त्रीलाई खबर पठाइसकेको जानकारी दिनुभयो । उहाँले अर्थमन्त्री नआइपुगुञ्जेलसम्म आफ्नो धारणा राख्न सांसद राईलाई आग्रह गर्नुभयो ।
सांसद राईले आफ्नो मन्तव्य राख्न अस्वीकार गर्नुभएपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभयो । आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहेको छ ।
यसअघि छलफलमाा भाग लिँदै सांसद अमरेशकुमार सिंहले अर्थमन्त्रीको अनुपस्थितिमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुनु राम्रो नभएको गुनासो गर्नुभयो । उहाँले चुरेको संरक्षण नहुँदा पानीको तह कम हुँदै गएकाले तराई मधेसमा समस्या बढेको उल्लेख गर्नुभयो ।
सांसद रेखाकुमारी यादवले पनि अर्थमन्त्रीको उपस्थिति नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो । उहाँले उच्च प्रतिफल दिने आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने, वैदेशिक सहयोग र ऋणका सम्बन्धमा प्रष्ट हुनुपर्ने, कुन क्षेत्रमा सहायता लिने भन्नेबारेमा प्रष्ट हुनुपर्ने धारणा राख्नुभयो ।।






प्रतिक्रिया राख्नुहोस्