एभरेस्ट समिटर्स समिट: आवश्यकता र औचित्य

काठमाडौँ- सगरमाथामा बढ्दो जोखिम, जलवायु परिवर्तन र फोहोर व्यवस्थापनका चुनौतीबीच दिगो हिमाली पर्यटन र आरोही सुरक्षाबारे विश्वस्तरीय बहस सुरु भएको छ ।

‘एभरेस्ट समिटर्स समिट-२०२६’ ले यही जेठ १३ गते (बुधबार) होटल सोल्टीमा नेपाल मात्र नभई विश्वकै चासोको विषय बनेको जलवायू परिवर्तन र योसँग सम्बन्धित विषयमा बहस गर्न लागेको हो ।

समिटको आयोजकसमेत रहेका एभरेस्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपाल सगरमाथा चढ्ने व्यक्तिहरुको अनुभवको संयोजनसँगै जलवायु परिवर्तनकामा केन्द्रीत रहने बताउँछन् ।

“हरेक वर्ष सगरमाथा चढ्ने व्यक्तिहरूको कथा फरक हुन्छ, अनुभव फरक हुन्छ । ती अनुभवहरूलाई एउटै थलोमा राखेर अन्तरक्रिया गर्ने अवसर नै यो सम्मेलनको विशेषता हो,” उनी भन्छन्, “ केवल सफलताको कथा सुनाउने मञ्च मात्र होइन, जलवायु परिवर्तन, फोहोर व्यवस्थापन, हिमताल विस्फोट जस्ता गम्भीर विषयमा पनि समिट केन्द्रित हुन्छ ।”

सम्मेलनमा विज्ञहरूले प्रस्तुत गर्ने भिजन र सुझावलाई नेपाल सरकारको पर्यटन नीतिसम्म पुर्‍याएर हस्तान्तरण गर्ने उद्देश्य राखिएको उनले बताए । साथै, प्यानल डिस्कसनमार्फत नेपालको पर्वतारोहण र सुरक्षा नीतिलाई थप प्रभावकारी बनाउन मार्गदर्शन मिल्ने अपेक्षा आयोजकको छ ।

विशेषगरी, हिमाललाई असर नगरी कसरी सुरक्षित र दिगो रूपमा आरोहण गर्ने ? पर्वत संरक्षण कसरी गर्ने ? र मानव सुरक्षालाई कसरी प्राथमिकतामा राख्ने भन्ने विषयमा यो सम्मेलनले महत्वपूर्ण बहस र निष्कर्ष निकाल्ने विश्वास गरिएको छ ।

हिमतालविद् सुदीप ठकुरी धेरै कारण हिमताल फुट्ने जोखिम औंल्याउँछन् । “सगरमाथा क्षेत्रमा भूउपग्रह तस्बिर र स्थलागत हिमनदी अध्ययनले महत्वपूर्ण तथ्यांक प्रदान गरे पनि,यो समिट दारा उच्च क्षेत्रको प्रत्यक्ष पहुँचले सगरमाथा क्षेत्रका हिमनदी र हिमतालहरू बुझ्नमा महत्वपूर्ण भूमिका खेल्छ । सगरमाथा क्षेत्र हिमतालहरूको सबैभन्दा उच्च घनत्व भएको क्षेत्र हो,” उनको ठम्याइ छ, “जहाँ अस्थिर मोरेन ड्यामका (हिमनदि पग्लदै जादा त्यसले ल्याएका पदार्थहरु एक ठाउमा जम्मा हुन्छन र त्यसले पानि थुनेर ताल बनाउछ) कारण धेरै हिमतालहरू बन्ने र हिमताल फुट्ने उच्च जोखिममा छन् ।”

यीमध्ये धेरै तालहरू १९६०-१९७० को दशकमा देखा परेका थिए । त्यसपछि उल्लेखनीय रूपमा विस्तार भएर नेपालका सबैभन्दा ठूला हिमतालहरू बनेका छन् । इम्जा, दिक्षो, तल्लो बरुण, पश्चिम चाम्लिङ तालहरु त्यसका उदाहरण हुन् ।

अध्ययनहरूका अनुसार पछिल्लो चार दशकमा यो क्षेत्रमा ग्लेसियल तालहरूको सतह क्षेत्रफल करिब २५% ले वृद्धि भएको छ, जसको मुख्य कारण तीव्र हिमनदी पग्लनु हो ।
समिटले वैज्ञानिक अभियानहरूलाई सहयोग गरी ७,००० मिटरभन्दा माथिका उच्च क्षेत्रबाट स्थलागत डेटा संकलन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनको छ ।

आइस स्याम्पल, मास ब्यालेन्स मापन, आइसफल र सुप्राग्लेसियल तालका वास्तविक अवस्थाको जानकारी दिइने विश्वास गरिएको हो ।

“यी उच्च उचाइका जानकारीहरूले समिट क्षेत्रका प्रक्रियाहरूले समयसँग हिमनदी पातलिने, क्षेत्रफल घट्ने र तल्लो क्षेत्रमा हिमताल विस्तारमा कसरी प्रभाव पार्छन् भन्ने बुझ्न आवश्यक सहयोग गर्छ,” ठकुरी भन्छन् ।
समिटमा हिमतालहरूमा जलवायु परिवर्तनको प्रभावलाई एभरेस्ट समिटरहरुको प्रत्यक्ष भोगाइ र अनुभव प्रस्तुत गरिन्छ ।

क्लाइम्बर्सहरूले उच्च क्याम्पहरूको अत्यधिक उचाइमा पनि हिउँ कम परेको, हिउँको तह घटेको, हिमनदी तीव्र पग्लिने र पातलिने प्रक्रिया देखेको बताउँछन्, जसले खुम्बु क्षेत्रमा हिमतालहरूको निर्माण र द्रुत विस्तार गराएको छ ।

समिटरहरूले अस्थिर मोरेन ड्याम भएका तालहरू, बढ्दै गएका सुप्राग्लेसियल तालहरू, परिवर्तित आइसफल र तल्लो बस्तीहरूलाई  परेको बढ्दो जोखिमबारे चर्चा गर्नेछन ।

समिटियरसँग गरिएका वैज्ञानिक अभियानहरू (जस्तैः साउथ कोल मौसम मापन स्टेशन, ग्लेसियरको आइस–कोर अध्ययन) ले हजारौं वर्ष पुरानो बरफ अहिले छिट्टै पग्लिरहेको देखाएको छ ।

यी व्यक्तिगत अनुभवहरूको आदानप्रदानले जलवायु परिवर्तन र प्रभावका बारेमा विश्वव्यापी जागरण बढाउँछन् ।
एभरेस्ट समिटरहरूले आफ्नो उच्च उचाइको अवलोकन र वैज्ञानिक अभियानसँगको सहकार्यबाट खुम्बु क्षेत्रमा हिमताल फुट्ने बढ्दो जोखिम कम गर्न एकीकृत दृष्टिकोण प्रस्तुत गर्ने समेत अपेक्षा गरिएको छ।

उनीहरूले अत्यधिक जोखिमपूर्ण ग्लेसियल तालहरूमा स्वचालित सेन्सरसहित वास्तविक समय निगरानी प्रणाली मजबुत गर्न र तल्लो बस्तीहरूलाई सूचना दिन प्रभावकारी पूर्व सूचना प्रणाली स्थापना गर्न जोड दिन सक्ने उनी बताउँछन् ।

“१९६०–१९७० को दशकदेखि अस्वाभाविक विस्तार भएका अस्थिर मोरेन ड्याम भएका तालहरूमा पानीको मात्रा घटाउन इम्जा तालको सफल उदाहरण अनुसरण गर्दै इन्जिनियरिङ कार्यहरू लागू गर्न सहयोग गर्छन्,” उनको ठम्याइ छ,“स्थलागत डेटा संकलन र स्याटेलाइट निगरानीलाई एकीकृत गरी नियमित जोखिम मूल्यांकन गर्न आवश्यक छ, जसले ग्लेसियल तालको क्षेत्रफलमा भएको वृद्धिलाई ट्र्याक गर्न मद्दत गर्छ ।”

यसका साथै, उनीहरूले स्थानीय समुदायमा जागरण कार्यक्रम, एकीकृत दृष्टिकोण र नीति निर्माणमा सहयोग गर्न सक्ने विश्वास गरिएको छ ।

उता भारतीय पर्वतारोही आशिष सिंहको बुझाइमा यस्ता सम्मेलनले आरोहीदेखि उद्दार विज्ञहरुसम्मलाई एउटै मञ्चमा जोड्ने काम गर्छ । सिंहले सन् २०२३ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।

“पर्वतारोहण भनेको शिखरमा पुग्नु मात्र होइन; यो तयारी, निर्णय लिने क्षमता, टिमवर्क, जीवित रहनु (सर्भाइभल), र सुरक्षित रूपमा फर्कनु पनि हो,” उनी भन्छन्, “यस्ता कार्यक्रमहरूले हिमालका वास्तविक अनुभवहरू आदानप्रदान गर्न अनुभवी आरोहीहरू, अभियान टोलीका नेताहरू (एक्सपिडिसन लिडर्स), उद्धार विज्ञहरू र युवा पर्वतारोहीहरूलाई एउटै मञ्चमा ल्याउँछन् ।”

उनका अनुसार सगरमाथाको सामना गरेका प्रत्येक आरोहीले मौसमको अवस्था, लेक लाग्ने समस्या (एल्टिच्युड सिकनेस), जोखिम व्यवस्थापन, मानसिक दबाब, उद्धारका परिस्थितिहरू र बाँच्ने प्रविधिहरूका बारेमा मूल्यवान पाठहरू बोकेका हुन्छन् ।

जब यी अनुभवहरूका बारेमा खुला रूपमा छलफल गरिन्छ, यसले भविष्यका आरोहीहरूलाई राम्रो तयारी गर्न र चरम परिस्थितिहरूमा ज्यान जान सक्ने गल्तीहरूबाट बच्न मद्दत गर्दछ । उनले आफ्ना व्यक्तिगत अनुभव पनि साँटे ।

“सगरमाथा आरोहण गरेपछि मैले के महसुस गरेँ भने शारीरिक तन्दुरुस्ती जत्तिकै मानसिक शक्ति र निर्णय लिने क्षमता पनि महत्त्वपूर्ण हुन्छ । यस्ता सम्मेलनहरू मार्फत आरोहीहरूले दबाबमा कसरी शान्त रहने, हिमाललाई कसरी सम्मान गर्ने र शिखर भन्दा सुरक्षालाई सधैं पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरा सिक्छन्,” आरोही सिंहको अनुभव छ ।

यस्ता समिटले राम्रो प्रशिक्षण विधिहरू, आधुनिक उपकरणहरू, आपतकालीन उद्धार प्रणाली, वातावरणीय उत्तरदायित्व र नैतिक पर्वतारोहण अभ्यासहरूका बारेमा छलफल गरेर पर्वतारोहण समुदायभित्रको समन्वय सुधार्न पनि मद्दत गर्ने विश्वास लिइएको छ ।

युवा आरोहीहरूले उच्च–अल्टिच्युड अभियानका कठोर यथार्थहरू अनुभव गरेका मानिसहरूबाट प्रत्यक्ष सिक्ने मौका पाउने विश्वास सिंहको छ ।

एभरेष्ट समिटर्स समिटले नीति निर्माणमा पनि सहयोग पुर्याउने विश्वास सिंहले व्यक्त गरे ।

“जब अनुभवी आरोहीहरू सँगै आउँछन् र एकै आवाजमा बोल्छन्, यसले अधिकारीहरू र निर्णयकर्ताहरूमा बलियो प्रभाव पार्छ । मलाई विश्वास छ कि यस्ता मञ्चहरूले नीति निर्माताहरू र वास्तविक पर्वतारोहण समुदाय बीचको खाडललाई कम गर्न मद्दत गर्दछ,” उनको निष्कर्ष छ, “ जुन सुरक्षित र जिम्मेवार पर्वतारोहणको भविष्यका लागि धेरै महत्त्वपूर्ण छ ।”

एभरेस्ट समिट २०२६ केवल कार्यक्रम विस्तार होइन, सगरमाथाको भवष्यिबारे साझा विश्व संवादतर्फको महत्वपूर्ण कदम हो । यसपटक सहभागी संख्या २०० बाट बढाएर करिब ५०० पुर्‍याउने तयारी गरिएको छ ।

पहिलो संस्करणको सफलताले दिएको आत्मवश्विासका आधारमा दोस्रो संस्करणलाई अझ व्यापक बनाइनु यसको दीर्घकालीन महत्वको संकेत हो ।

‘सगरमाथा संरक्षण, आरोही सुरक्षा र दीगो पर्यटन’, यी तीन आधारमा केन्द्रीत यो समिट अब नेपालदेखि विश्वस्तरसम्मको नीति संवादको महत्वपूर्ण प्लाटफर्म बन्ने दिशामा अघि बढेको आम बुझाइ छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.