पाँचखालमा साप्ताहिक कृषि हाटबजार

काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ । हरेक शुक्रबार र शनिबार दुई दिन हाटबजार सञ्चालनमा ल्याइएको हो । पाँचखाल नगरपालिकाको आयोजना, स्थानीय कृषि बजार सञ्चालक, व्यवस्थापन समिति पाँचखालको सहआयोजना तथा पाँचखाल–४ नं वडा कार्यालयको समन्वयमा हाटबजार सञ्चालनमा ल्याइएको हो ।

पाँचखाल–४ का वडाध्यक्ष सुन्दर लामाले कृषि उपज सङ्कलन तथा पाँचखाल चोकस्थित बोहोरेदोभान जाने बाटोमा बजार सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँका अनुसार कृषि हाटबजारमा किसानले आफ्ना उत्पादनहरू सोझै उपभोक्तालाई बेच्न सक्नेछन् । पाँचखालमा हाटबजार सञ्चालनपछि बिचौलियाको समस्या टर्दै जाने तथा किसानको भाउअनुसार उपभोक्ताले पनि सस्तोमा तरकारीलगायत कृषिजन्य उत्पादन खरिद गर्न पाउने जनाइएको छ ।

पाँचखालमा सञ्चालमा ल्याइएको हाटबजारमा भने शुक्रबार बिहानदेखि शनिबार साँझसम्म दुई दिन चल्ने जनाइएको छ । पाँचखालमा शुक्रबार पहिलो र दोस्रो दिनमै किसान र उपभोक्ताको उत्साहजनक सहभागिता रहेको देखिएको छ । हाटबजारमा विशेषगरी अर्ग्यानिक तरकारीको प्रदर्शनी तथा बिक्रीवितरण भइरहेको छ । हाटबजारमा अर्ग्यानिक तरकारीको प्रदर्शनी तथा बिक्रीवितरण नियमित गराइने लामाले बताउनुभयो ।

यसअघि गत वैशाख अन्तिम साता पाँचखाल नगरले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि उपजको प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने कृषि मेलाको आयोजना गरेको थियो । नगर कार्यालयले लवग्रीन नेपालसँगको सहकार्यमा आयोजना गरेको मेलामा करिब २० हजारले अवलोकन गरेका थिए ।

उक्त मेलामा आइपीएम प्रविधिबाट उत्पादन भएका कृषि उपजको प्रदर्शनी तथा बिक्री, बाली शिविर सञ्चालन, कृषि उपजको प्रतिस्पर्धात्मक कार्यक्रमसेमत सञ्चालन गरिएको थियो । पाँचखालका नगरप्रमुख महेश खरेलले ‘पाँचखाल नगर कृषि सहर’ भएकाले यहाँको तरकारीमा न्यून विषादीमा रहेको तर्क गर्नुभएको छ । “पाँचखालको तरकारीमा अत्यधिक विषादी भएको भनेर हल्ला चलाइए पनि केही वर्षदेखि पाँचखालको तरकारी सेमी आग्र्यानिक भएको छ, विषादीको भ्रम चिर्न हामीले अग्र्यानिकमा जोडबल गरिरहेका छौँ”, खरेलले भन्नुभयो ।

उहाँका अनुसार किसानको मागलाई सम्बोधन गर्न नगरले स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुर्याउने बताउँदै किसानलाई प्रोत्साहन गर्न ‘दुईदिने साप्ताहिक कृषि हाटबजार’ सञ्चालनमा ल्याइएको बताउनुभयो । यसअघि जिल्लाको बनेपा नगरले विगत दुई वर्षदेखि बनेपास्थित लायकु मञ्चमा तथा जिल्लाकै मण्डनदेउपुर नगरको पर्यटकीयस्थल नगरकोटमा शुक्रबार अर्ग्यानिक कृषिजन्य हाटबजार सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.