डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली

कैलाली- डा गोविन्द केसीका माग सम्बोधनका विषयमा सरकारी वार्ता टोलीसँग प्रारम्भिक सहमति जुटेपछि तयार पारिएको सहमतिको मस्यौदा अनुमोदनका लागि प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पठाइएको छ।
केन्द्रबाट जवाफ आएपछि आजै अन्तिम सहमति जुटाउने प्रयास भइरहेको छ ।
डा. केसीले राखेका पाँच बुँदे मागका विषयमा हिजो र आज भएको लामो वार्तापछि अधिकांश बुँदामा सहमति जुटेको जनाइएको छ।
आइतबार करिब ११ घण्टा चलेको वार्ता निष्कर्षमा नपुगेपछि आज बिहान १० बजेदेखि पुनः वार्ता सुरु भएको थियो ।
शिक्षा मन्त्रालयको अगुवाइमा गठित सरकारी टोली र डा. केसी पक्षबीच अझै केही विषयमा अन्तिम सहमति हुन बाँकी छ।
वार्तामा सरकारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशचन्द्र अग्रवाल तथा प्रतिनिधिसभा सदस्य पुकार बम सहभागी हुनुहुन्छ।
डा. केसीको तर्फबाट डा. अमृत जैसी र पवन थापा वार्तामा सहभागी हुनुहुन्छ।
वार्ताका क्रममा सरकारी टोलीले पहिलो चरणमा डा. केसीका प्रतिनिधिसँग छलफल गरेको थियो भने त्यसपछि सेती प्रादेशिक अस्पताल पुगेर डा. केसीसँग पनि प्रत्यक्ष संवाद गरेको थियो।
डा. केसी गत बिहीबारदेखि धनगढीमा सत्याग्रहमा हुनुहुन्छ।
स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि चिकित्सकको सल्लाहअनुसार शनिबारदेखि उहाँलाई सेती प्रादेशिक अस्पतालमा राखेर उपचार गरिँदै आएको छ।।






प्रतिक्रिया राख्नुहोस्