आधा परिवारले हिउँ र जाडो छल्न गाउँ छाडे

ताप्लेजुङ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपात शुरु भएसँगै आधा परिवारले जाडो छल्न गाउँ छाडेका छन् ।

घुन्सा गाउँमा हिउँ पर्न थालेपछि सात परिवार हिउँ र जाडो छल्न काठमाडौँ पुगेको छ । चार परिवार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा कोठा लिए बस्न पुगेको छ भने एक परिवार इलामको पशुपति बजार पुगेको छ ।

घुन्सा गाउँमा २८ परिवार स्थायीरूपमा बासोबास गर्दै आएको स्थानीयवासी पेमा शेर्पाले बताउनुभयो । बाह्र परिवारले हिमपातसँगै जाडो छल्न गाउँ छाडेपछि १६ परिवार मात्र घुन्सा गाउँमा रहेको छ ।

घुन्सा विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको प्रवेशद्वारमा पर्ने एक पर्यटकीय बस्ती हो । घुन्सा गाउँमा हिमाली शेर्पा समुदायको बसोबास छ । यो गाउँ समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा पर्छ ।

प्रत्येक वर्षको पुस, माघ र फागुन तीन महिना गाउँलाई नै हिउँले छोप्ने गर्दछ । हिउँ परेपछि पग्लेर जाँदैन । सिसाजस्तै कडा बरफ बनेर जमिरहन्छ । पग्लिन एक महिनासम्म लाग्न सक्छ । तीन महिना हिउँ र चिसोका कारणले निकै कष्टकर समय बिताउनु पर्ने भएकाले हिउँ र जाडो छल्न प्रत्येक वर्ष घुन्सा छाड्ने गरेको शेर्पाले बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.