एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट सरकारमा प्रतिनिधित्व गरेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गर्नुभएको छ।

मुख्यमन्त्री शाहले सरकारमा रहेर आर्थिक वर्ष २०८३÷८४ को बजेटमा एमालेले असहयोग गरेको भन्दै आज उक्त दलबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूलाई पदमुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री शाहका जनसम्पर्क तथा प्रेस सल्लाहकार डम्बर बमका अनुसार आजै मुख्यमन्त्रीले एमालेका मन्त्रीहरूलाई बोलाएर बजेटबारे उहाँहरुको पार्टीको धारणाबारे जिज्ञासा राख्नुभएको थियो ।

यही असार १ गते प्रस्तुत बजेटप्रति सत्ता साझेदार एमालेले सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएको थियो । एमालेका सांसदहरूले प्रदेशसभामा बजेटविरुद्ध खर्च कटौती प्रस्तावसमेत दर्ता गरेका थिए ।

कांग्रेस नेतृत्वको सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सुरेन्द्रबहादुर पाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा हीरा सार्की तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा निर्मलादेवी साउद सहभागी हुनुहुन्थ्यो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजारको बजेट विनियोजन गरेको छ । सत्तासाझेदार दलले नै विरोध गरेपछि २२ दिनसम्म बजेट प्रदेशसभामा पेस हुन सकेको थिएन। यही असार २३ गते प्रदेशसभामा बजेट टेबल भए पनि सामान्य छलफलबाहेक अन्य प्रक्रिया अघि बढेको छैन । भोलिसम्ममा बजेट पारित गरिसक्नुपर्ने वैधानिक प्रावधान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.