बाढीबाट प्रभावितहरुको उद्धार, खोज र राहतलाई तीव्रता

काठमाडौँ- भोटेकोशी नदी रसुवामा आज बिहान आएको बाढीबाट प्रभावितहरुको उद्धार, खोज र राहतलाई तीव्र बनाइएको छ । हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी १२ जनाको उद्धार भइसकेको छ ।
बाढीबाट घाइतेहरुको उपचारका लागि काठमाडौँस्थित विभिन्न अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, स्काउट, लायन्सलगायतका संघसंस्थासँग आवश्यक समन्वय भइरहेको छ । वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा शय्या घाइतेका लागि छुट्याइएको छ ।
प्रभावित क्षेत्रमा ट्रमा सेन्टरबाट ६ जना डाक्टर र २ जना नर्स प्रस्थान गरिसक्नुभएको छ । स्काउटबाट पाँच जना डाक्टर र नौ जना उद्धारकर्मी प्रभावित क्षेत्रमा जाने तयारीमा हुनुहुन्छ । स्वास्थ्य सेवा विभागले प्रभावित क्षेत्रमा घाइतेको उपचारका लागि आवश्यक औषधि पठाउने तयारी भइरहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले प्रभावित क्षेत्रमा एक हजार जनालाई पुग्ने गरी आधारभूत औषधि र २४ स्वायर फिटका १५ वटा टेन्ट पनि पठाउने तयारी गरिसकेको छ ।
प्रभावितहरुको उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको छ ।
प्रभावितलाई लक्षित गरी काठमाडौँ, नुवाकोट र धादिङमा खाद्यान्न व्यवस्थापन केन्द्रलाई तयारी अवस्थामा राखिएको छ । हाल नेपाल टेलिकम र एनसेलले प्रभावितका लागि निःशुल्क डाटा, भ्वाइस र एसएमएस सेवा उपलब्ध गराएका छन् ।आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वयका लागि १११५मा सम्पर्क गर्न सकिन्छ ।
यसै बीच जल तथा मौसम विज्ञान विभाग भदौ १० गते दिउँसो १:३० बजे चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा अझै ताल पूर्ण रूपमा नखुलेको हुँदा भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम कायमै रहेको जनाएको छ । विभागले अर्को सूचना जारी नभएसम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहनुहुन सबैमा अनुरोध गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्