बाढी प्रभावित क्षेत्रबाट ८ हजार १८६ जनाभन्दा बढीको उद्धार

काठमाडौँ –भोटेकोशी नदीमा २६ अगस्टमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहँदा हालसम्म ७३४ जनाको शव फेला परेको छ भने २ हजार ४९८ जना अझै बेपत्ता छन्।

परराष्ट्र मन्त्रालयका  अनुसार प्रभावित क्षेत्रबाट ८ हजार १८६ जनाभन्दा बढीको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये २६१ भन्दा बढी विदेशी नागरिक छन्। अझै ४०० भन्दा बढी विदेशी नागरिक बेपत्ता रहेको सरकारले जनाएको छ।

खोज, उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा करिब १९ हजार सुरक्षाकर्मी र १६ वटा हेलिकप्टर परिचालन गरिएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रमा सुरक्षा निकाय, प्रदेश तथा स्थानीय सरकार, स्वास्थ्यकर्मी र आपत्कालीन उद्धार टोली परिचालन गरिएको छ।

सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ टोलीसमेत परिचालन गरिएको छ। नेपाली सेनासँगको समन्वयमा भारतबाट ११ र चीनबाट ९ जना सुरुङ उद्धार विशेषज्ञ नेपाल आएका छन्। दक्षिण कोरियाबाट पनि विशेषज्ञ टोली परिचालन गरिएको सरकारले जनाएको छ।

शव पहिचानका लागि भारतबाट १८ जना फरेन्सिक विज्ञ नेपाल आएका छन्। लामो समय पानीमा रहँदा पहिचान गर्न कठिन भएका तथा क्षतविक्षत शवको व्यवस्थापनका लागि डीएनए नमुना संकलन गरी अस्थायी रूपमा शव गाडिएको सरकारले जनाएको छ। आवश्यक परे पहिचानपछि धार्मिक तथा पारिवारिक संस्कारका लागि शव निकाल्न सकिने व्यवस्था गरिएको छ।

सरकारले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय, स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक सामग्री वितरण भइरहेको जनाएको छ।

सरकारले मृतक, बेपत्ता तथा क्षतिको तथ्यांक खोजी र प्रमाणीकरणसँगै परिवर्तन हुन सक्ने भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई आधिकारिक रूपमा प्रमाणित तथ्यांक मात्र प्रयोग गर्न र अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.