यही क्षेत्रबाट निर्वाचित भएर दोस्रोपटक प्रधानमन्त्री बन्न सफल भएँ

सिरहा- पूर्वप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले केही वर्षअघि शिलान्यास गरेको सिरहाको मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयको नवनिर्मित भवन आफ्नै हातबाट उद्घाटन गर्न पाउँदा अत्यन्त खुसी लागेको बताएका छन्।

विद्यालयको विज्ञान तथा प्रविधि प्रदर्शनी एवं नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भवन निर्माणमा योगदान पुर्‍याउने प्रधानाध्यापक, शिक्षक तथा विद्यालय परिवारप्रति धन्यवाद व्यक्त गरे। कार्यक्रम व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोग गर्ने मिर्चैया नगरपालिकाका प्रमुखलगायत सम्बन्धित सबैलाई उनले आभार व्यक्त गरे।

प्रचण्डले सिरहा–मिर्चैया आफ्नो लागि नयाँ ठाउँ नभएको उल्लेख गर्दै यही क्षेत्रबाट आफूले निर्वाचन जितेको विगत स्मरण गरे। यही क्षेत्रबाट निर्वाचित भएर आफू दोस्रोपटक नेपालको प्रधानमन्त्री बन्न सफल भएको बताउँदै उनले सिरहाका जनता तथा मिर्चैयावासीसँग आफ्नो गहिरो सम्बन्ध रहेको बताए।उनले विज्ञान तथा प्रविधिको क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि विद्यालयमा आयोजित प्रदर्शनी तथा निर्माण भएका नयाँ शैक्षिक पूर्वाधार महत्वपूर्ण हुने बताए। विद्यार्थीको आवश्यकता र विद्यालयको क्षमताअनुसार आगामी दिनमा आवश्यक स्रोतसाधन जुटाउन आफू सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।

बाहिरी क्षेत्रबाट समेत विद्यार्थीहरू अध्ययनका लागि मोहन माध्यमिक विद्यालय आउन चाहने गरेको तर यातायातको समस्या रहेको विषय आफूले बुझेको भन्दै प्रचण्डले आवश्यक परे विद्यालयका विद्यार्थीका लागि बसको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
सम्बोधनका क्रममा प्रचण्डले हालै रसुवालगायत विभिन्न पहाडी जिल्लामा आएको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरे। पहाडमा विपत्ति आउँदा तराई–मधेशले सहयोग गर्ने र तराई–मधेशमा समस्या पर्दा पहाडले सहयोग गर्ने नेपाली समाजको आपसी सहयोग र एकताको भावना नेपालको विशेषता भएको उनले बताए।

‘यही हो हाम्रो नेपाल, यही हो हाम्रो सहयोगको भावना’ भन्दै प्रचण्डले विपद्का बेला सबै क्षेत्र र समुदायबीच एकता तथा सहकार्य आवश्यक रहेको बताए।विद्यालयको नवनिर्मित भवनसँगै विज्ञान तथा प्रविधि प्रदर्शनीले विद्यार्थीमा नयाँ ज्ञान, सीप र सिर्जनशीलताको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले विद्यालयको शैक्षिक विकासका लागि आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.