बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

काठमाडौँ– सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको छ ।
प्रधानन्त्री वालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विभिन्न विषयगत आठ वटा कार्यदल निर्माण गरी सडक र पुल निर्माणलाई गति दिएको बताउनुभयो ।
मन्त्री लम्सालले पूर्वाधार पुनःनिर्माणमा दोहोरोपना हुन नदिनका लागि स्थानीय जनप्रतिनिधिलाई सघाउन आग्रह गर्नुभयो । उहाँले बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई गति दिइरहेको स्पष्ट पार्नुभयो । अब पक्की सडक र पुलको निर्माणलाई छिटो सक्ने गरी काम गर्ने उहाँको भनाइ छ ।
यही क्रममा काठमाडौँमै रहेर आफ्नो नेतृत्वको मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग छलफलमा जोडिएर आ–आफ्नो प्रभावित क्षेत्रका क्षतिग्रस्त पूर्वाधारको विवरण दिन, योजना बनाउन, निर्माणमा समन्वय, अनुगमन र नियमन गर्न स्थानीय जनप्रतिनिधिहरूसँग उहाँले आग्रह गर्नुभयो ।
“प्रभावित क्षेत्रमा आगामी मङ्सिरसम्म खानेपानी प्रणाली पुनःस्थापना गरिनेछ”, मन्त्री लम्सालले भन्नुभयो, “ ती क्षेत्रमा स्वास्थ्य, शिक्षालगायत पूर्वाधार निर्माणमा पनि सरकारले काम गरिरहेको छ ।”
छलफलमा भोटेकोशी बाढी प्रभावित जिल्ला नुवाकोटका प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले गैर सरकारी संस्थाहरूले बाढी प्रभावितलाई घर बनाइदिने, ज्येष्ठ नागरिक तथा बालबालिकालाई संरक्षण गरिदिनेजस्ता आश्वासन दिँदै हिँडिरहेको भन्दै उनीहरूले राष्ट्रिय विपद् जोखम न्यूनीकरण तथा व्यवस्थापनसँगको समन्वयमा मात्रै काम गर्नुपर्ने बताउनुभयो । उहाँले प्रभावित क्षेत्रका कुनै पनि पीडित नछुट्ने गरी तथ्याङ्क सङ्कलन गरी सरकारलाई समयमै उपलब्ध गराउन स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्