आगामी दुई दिन वर्षाको गतिविधि थप बढ्ने,यी हुन उच्च जोखिमका २५ जिल्ला

बाढी -पहिरोको उच्च जोखिममा रहेका जिल्लाहरूमा सवारी साधन नचलाउन विपद् प्राधिकरणको आग्रह

काठमाडौँ- मौसम विज्ञान विभागले विगत दुइ दिन यता परेको अविरल बर्षका गतिविध थप बढने बताइएको छ । आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ ।

नेपाल मौसम विज्ञान विभागका मौसमविद् राजन लामिछानेले आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको जानकारी दिनुभएको छ । पछिल्ला दुई दिनदेखि विभिन्न स्थानमा लगातार वर्षा भइरहेको र कतिपय क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएकाले बाढी तथा पहिरोको जोखिम बढेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्षासँगै बाढी पहिरोको जोखिमका आधारमा ७७ जिल्लालाई तीन भागमा विभाजन गरेको छ।

जोखिमलाई रातो, सुन्तला र पहेँलो रङमा विभाजन गरिएको छ। जसअनुसार २५ जिल्ला रातो अर्थात् धेरै जोखिममा छन्। बाढी पहिरोको उच्च जोखिममा रहेका कारण ती जिल्लाहरूमा सवारी साधन राति र दिउँसो दुवै समयमा पूर्णरुपमा बन्द गर्न प्राधिकरणले सुझाएको छ।

हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित रहेको र क्रमशः नेपालतर्फ सर्दै छ । त्यसको प्रभाव आजदेखि पश्चिमी भूभागतर्फ सर्दै जाने मौसमविद् लामिछानेले बताउनुभयो ।

आज र भोलि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढी हुने देखिएको छ । पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जाने र मौसममा सुधार आउने सम्भावना छ ।

शनिबारसम्म न्यून चापीय प्रणालीको प्रभाव पश्चिमतर्फ सर्दै जाने र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका क्षेत्रमा वर्षाको गतिविधि बढ्न सक्ने पूर्वानुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । असोज ११ गते आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रणालीको प्रभाव कायमै रहनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.