आजदेखि सबै सार्वजनिक सवारी चल्दै
काठमाडौं– सरकारले खुला गरे पनि सञ्चालन नभएका सार्वजनिक सवारी साधन बिहीबारदेखि सञ्चालन हुने भएका छन् ।
सरकारले व्यवसायीका माग पूरा गरेपछि सवारी सञ्चालन हुने भएको हो । लकडाउनका कारण चार महिनादेखि सार्वजनिक सवारी बन्द भएका थिए ।
यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच सोमबार भएको छलफलपछि व्यवसायी गाडी चलाउन तयार भएका हुन् । आवश्यकताअनुसार गाडी चलाउँदै लगिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बताएको छ ।
सहमतिअनुसार चालक, सहचालकको कोरोना बिमाको प्रिमियम सरकार र यातायात व्यवसायीले आधाआधा तिर्न पहल गर्ने सहमति भएको छ । सरकारले लामा दूरीका सवारी भदौ १ देखि चल्न दिने निर्णय गरे पनि त्यसअघि नै सञ्चालन गर्न सरकारसँग पहल भइरहेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्