गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा- गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।
बडादसैँ अन्तर्गत फूलपातीका दिन आज बिहान ८ः ३२ बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरुले विधिपूर्वक पुजाअर्चना गरेर हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखाकाली मन्दिरका पुजारी हरि सारु मगरले जानकारी दिनुभयो ।
बा २ झ २१२८नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबारका लागि फूलपाती पठाइएको उहाँको भनाइ छ । गोरखा दरबारको दसैँघरबाट दरबारका सुसारेहरुले फूलपातीसहितको डोली बोेकेर ल्याई गाडीमा राखेर पठाएका हुन् ।
गोरखा दरबारको दसैँघरदेखि बाजागाजासहितको र्याली निकालेर फूलपातीको विदाइ गरिएको उहाँले बताउनुभयो । ‘‘गोरखाबाट पठाइएको फूलपाती हनुमान ढोका दरबारमा पुर्याएपछि आजै साँझ हर्ष बढाइका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन छ,’’ पुजारी मगरले बताउनुभयो ।
तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमा हनुमान ढोका दरबारबाट राजकाज सुरु गरेपछि हरेक बर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमान ढोका दरबारमा लगेर भित्र्याउने गरेको पाइन्छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रप्रहरीको टोलीले सलामी दिएर गोरखा दरवारबाट फूलपाती पठाइएको हो ।
जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरलगायतले गोरखा दरबारको फूलपातीको विदाइ गरेर हनुमान ढोका दरबार पठाएका हुन् ।
गोरखा दरबारको दसैँघरमा पनि आज साँझ हर्ष बढाइँका साथ फूलपाती भित्र्याइन्छ ।।






प्रतिक्रिया राख्नुहोस्