रास्वपाको ‘हामी आउँदैछोैँ’ अभियानले स्थानीय तहमा सकारात्मक तरङ्ग ल्यायो : सचेतक परियार

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले पार्टीले सञ्चालन गरेको ‘हामी आउँदैछौँ’ अभियान प्रभावकारी,परिणाममुखी र स्थानीय तहमा तरङ्ग ल्याउन सफल भएको बताउनुभएको छ ।
गत असोज २० गतेदेखि २७ गतेसम्म सञ्चालन गर्ने गरी तय गरिएको हामी आउँदैछोैँ अभियानले पार्टी संगठन विस्तार, आन्तरिक समन्वय र स्थानीय तह निर्वाचनको तयारीलाई तिब्रता दिएको सचेतक परियारले बताउनुभयो ।
पत्रकारहरुसंग कुरा गर्दै सचेतक परियारले भन्नुभयो, “अभियानले पार्टीका नेता, सांसद, केन्द्रीय सदस्य, जिल्ला तहका पदाधिकारी तथा अगुवावीच सहकार्य, साझा बुझाई र समन्वयलाई प्रभावकारी बनाएको छ । पार्टीका सांसद र सरकारसँग सम्बन्धित विषयलाई एकैसाथ गाउँगाउँसम्म पुर्याउन अभियान सफल भएको छ । नागरिकका वास्तविक समस्या, गुनासा, आवश्यकता र अपेक्षा बुझेर समाधानका लागि आवश्यक पहल गर्न पनि अभियान थप प्रभावकारी भएको छ ।”
दसैँको मुखमासमेत पार्टीका नेता तथा अगुवा उत्साहका साथ संगठनात्मक काममा खटिएको बताउँदै परियारले अभियानका क्रममा नागरिक समाजका अगुवाहरुसंग छलफल, अन्तर पार्टी भेटघाट तथा स्थानीय सम्पदा,संस्कृति र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगेको उल्लेख गर्नु भयो।
सचेतक परियारले ‘हामी आउँदैछोैँ अभियान’ले स्थानीय तह निर्वाचनको तयारीलाई समेत तिब्रता दिएको बताउनु भयो ।
यस क्रममा पार्टीको नीति, सिद्धान्त र कार्यक्रमबारे प्रशिक्षण सञ्चालन गर्नुका साथै ‘क्यान्डिडेट क्लब’को अवधारणालाई वडा समितिसम्म पुर्याईएको सचेतक परियारको भनाई छ ।
अभियानका क्रममा स्थानीय तह निर्वाचनमा कस्ता उम्मेदवार अघि सार्ने, सम्भावित उम्मेदवारको पहिचान कसरी गर्ने तथा अन्य राजनीतिक दल र सामाजिक क्षेत्रमा प्रतिष्ठित व्यक्तिलाई पार्टीमा आकर्षित गर्ने विषयमा समेत विस्तृत छलफल भएको परियारले बताउनुभयो ।
हामी आउँदैछोैँ अभपयान लगत्तै रास्वपाले नगर क्याण्डिडेट क्लब सार्वजनिक गरेको छ।






प्रतिक्रिया राख्नुहोस्