संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन फूलकोर्टको आग्रह

काठमाडौँ- सर्वोच्च अदालतले संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गरेको छ ।

प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासहितका न्यायाधीश सम्मिलित ‘फूलकोर्ट’ बैठकले संविधान र कानुनको सर्वोच्चता आफूहरुको अटल आस्था र प्रतिबद्दता रहेको स्पष्ट गरेको छ ।

“संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिबद्धता हो” सर्वोच्च अदालतका प्रवक्ता डा अशोककुमार क्षेत्रीले बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “यसमा हामी अडिग र स्पष्ट छौँ, संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गर्दछौँ ।”

बैठकले सार्वजनिक रुपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा विना पूर्वाग्रह निष्पक्ष एवं स्वतन्त्र ढङ्गबाट संविधान र कानुन बमोजिम छानबिन गरी सत्य, तथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बद्ध निकायलाई आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, “सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण भइरहेका समाचारका सम्बन्धमा संविधान र कानुन बमोजिम हुने छानबिन र अनुसन्धानमा कानुन बमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहीता एवं सहयोग गर्नेमा हामी प्रतिबद्ध छौँ ।”

बैठकले न्यायपालिका जनताको आस्था र विश्वासमा अडिने संस्था भएकाले उक्त संस्थासँग सम्बन्धित समाचार प्रकाशन गरिँदा आमजनता एवं सेवाग्राहीमा भ्रम र नकारात्मक असर नपरोस् भनी छानबिनको निष्कर्ष प्राप्त नहँुदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी कुनै पनि समाचार प्रकाशन तथा प्रसारण नगर्नसमेत आग्रह गरेको छ ।

प्रकाशित र प्रसारित समाचारबाट विचलित नभई सदा झै न्यायिक कार्यमा क्रियाशील रहन सबै अदालतमा कार्यरत सम्पूर्ण न्यायकर्मीलाई उक्त पूर्ण बैठकले आग्रह गरेको छ ।

केही दिनअघि प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति पूर्ण बैठकको ध्यानाकर्षण भएको जनाउँदै उक्त अदालतले आफ्नो धारणा लिखित रुपमा सार्वजनिक गरेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.