सुर्खेतमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘काउन्टडाउन’ सुरु

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुन गइरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता-२०८३ को औपचारिक रुपमा काउन्टडाउन सुरु भएको छ ।

आज शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा एक औपचारिक कार्यक्रमका बीच काउन्टडाउन सुरु भएको घोषणा गर्नु भएको हो ।

आगामी मङ्सिर १६ गतेदेखि २९ गतेसम्म सुर्खेतमा हुने राष्ट्रिय प्रतियोगिता सुरु हुन अब ठीक ३० दिन बाँकी रहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता दिन र व्यवस्थित बनाउने उद्देश्यले आफु अहिले सुर्खेतमा आएको शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले बताउनु भयो ।

उहाँले पहिलो पटक कर्णाली प्रदेशमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य बनाउन सबै पक्षसँग आग्रह गर्नु भयो ।

खेलकुद प्रतियोगिताको आयोजनास्थल रहेको कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण, व्यवस्थापन र अन्य आवश्यक तयारीका सन्दर्भमा आफुहरु युद्धस्तरमा जुटेको कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले बताउनुभयो ।

उहाँले प्रतियोगितालाई भव्य र ऐतिहासिकरुपमा सफल पार्न संघसँगै प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय, सहकार्य गर्दै व्यवस्थापन तथा पूर्वाधारको अवस्थालगायत विषयमा कर्णाली प्रदेश सरकार केन्द्रित रहेको बताउनु भयो ।

त्यस्तै सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले दशौं राष्ट्रिय खेलकुदलाई सफल बनाउन प्रदेश सरकार पूर्णरुपमा लागिपरेकै कारणले आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनु भयो । अहिले संघीय शिक्षा तथा खेलकुदमन्त्री पोखरेलसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री शाही, सामाजिक विकास मन्त्री मल्ललगायतको उपस्थितिमा तयारी तथा समन्वय बैठकहरु तीव्र पारिएका छन् ।

खेलकुदको महाकुम्भ सुरु हुन अब महिना दिन मात्र बाँकी रहँदा देशैभरका खेलाडी र खेलप्रेमीहरुमा उत्साह थपिएको छ ।

१० हजार दर्शक अट्ने क्षमताको अत्याधुनिक कर्णाली प्रदेश रंगशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि आफ्नो तयारीलाई तीव्रता दिएको राखेप सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिनु भयो ।

यता कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जिल्लास्तरीय खेलाडी छनोट, प्रदेशस्तरीय छनोट, बन्द प्रशिक्षण, खेलस्थलको व्यवस्थापन र आवश्यक पूर्वाधार सुधारका काम अघि बढाएको उपाध्यक्ष प्रमोद हमालले बताउनु भयो ।

उहाँका अनुसार वीरेन्द्रनगरमा मूल आयोजक समितिको सचिवालय स्थापना गरिएको छ ।

विभिन्न उपसमिति गठन गरेर तयारीलाई व्यवस्थित बनाउने प्रयास गरिएको उहाँको भनाइ छ ।

यस पटक खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले व्यक्तिगत इभेन्टतर्फ स्वर्ण पदक विजेताले २० हजार रुपैयाँ, रजत विजेताले १५ हजार र कांस्य विजेताले ८ हजार रुपैयाँ नगद पाउनेछन् ।

समूहगत इभेन्टतर्फ स्वर्ण विजेतालाई १५ हजार, रजतलाई १० हजार र कांस्य विजेतालाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

३२ वटै खेल विधामा पदक जित्ने खेलाडीलाई पदकसँगै उक्त नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएन) गरी ११ टोली सहभागी हुनेछन् ।

विभिन्न ३२ खेल विधामा प्रतिस्पर्धा हुने प्रतियोगिताको मुख्य खेलस्थलका रुपमा सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.